जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

लचिलो भयो माओवादी !

माओवादीलाई समर्थन गर्न उसले शान्ति प्रक्रियाका बारेमा ल्याउँने खाकाले मुख्य प्रभाव पार्ने भनेर अरुदलले बताईरहेका बेला माओवादीले आज शान्ति प्रक्रियाबारे नयाँ खाका ल्याएको छ । शान्ति प्रक्रियाको मुख्य हिस्सेदार माओवादीका जनसेनाका बारेमा अड्किएको विवाद नयाँ खाकाले सम्बोधन गर्न सक्ने प्रशस्त ठाउँ देखिएको छ । वर्तमान राजनीतिक परिस्थितीको समाधानका लागि ल्याईएको भएपनि यो खाकाले शान्तिप्रक्रियामा स्पष्ट योगदान दिन सक्ने प्रशस्त सम्भावना देखिएको छ । जस्तो, जनसेनाको समायोजनका बारेमा माओवादीले पहिलेको अडानमा परिमार्जन गरेर आठहजारको आसपास भनेको छ । त्यस्तै माओवादीले समायोजनको लागि महानिर्देशनालय नेपाली सेना अन्तर्गत रहन स्वीकार गरेको छ। जनसेनाको संख्यामा र महानिर्देशनालयमा समेत माओवादी लचिलो देखिनुले अब बल अन्य पार्टीको कोर्टमा रहेको प्रतित हुन्छ । हेर्नुहोस्, माओवादीले ल्याएको खाकाको पुर्णपाठ

शान्ति प्रक्रिया, संविधान र सरकारबारे एकीकृत नेकपा(माओवादी)को प्रस्ताव एवम् प्रतिबद्धता

देशको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने तथा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गम्भीर जिम्मेवारीका साथ पार्टीका तर्फबाट निम्न प्रस्ताव प्रस्तुत गरिएको छ।

१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापनाबारे
क) नेपाली सेना अन्तरगत महानिर्देशनालयको गठनको मोडालिटी बनाउने।

ख) भौतिक स्वास्थ्यको मापदण्ड पुरा गर्ने र उमेर, विवाह, शिक्षा लगायतका विषयमा समायोजनको विशेष मापदण्ड अनुसार लडाकुहरु निश्चित इकाईमा समायोजन गर्ने।

ग) पार्टीको केन्द्रीय समिति जस्तो जिम्मेवार निकायमा रहेका प्रमुख कमाण्डरहरुलाई राज्यद्वारा सम्मान दिँदै र समायोजनमा नगई राजनैतिक काममा लगाउने। बाँकी कमाण्डरहरुको दर्जा मिलान (Rank Harmonization) विशेषज्ञहरुको टिमबाट एक हप्तामा सुझाव लिएर निर्धारण गर्ने।

घ) पुनर्स्थापना प्याकेज सहमतिले निर्माण गर्ने। स्वेच्छिक विदाई (Golden Handshake) का लागि तह अनुसार रु. ७ लाख देखि १० लाख सम्मको रकम प्रदान गर्ने। रकम सहमतिले किस्ताबन्दीमा दिन सकिने। घाइते, अपांगहरुका हकमा सम्मानजनक पेन्सनको व्यवस्था गर्ने।

ङ) समायोजनको संख्या ८ हजार वरिपरि निर्धारण गर्ने। शारीरिक तन्दुरुस्ती र पुनर्स्थापना प्याकेजको प्रभावकारिता अनुसार संख्यामा केही थपघट हुनसक्ने।

च) समायोजित सेनाको जिम्मेवारी एक नियमित सेना (Combatant) को हैसियतले कुनै पनि क्षेत्रमा प्राप्त हुनसक्ने।

छ) उपरोक्त विषयमा सहमतिसँगै ०६८ भाद्र १४ भित्रै समायोजन र पुनर्स्थापनाको शिविरमा लडाकुहरुको पुनवर्गिकरणको प्रक्रिया व्यवहारतः आरम्भ गर्ने। यो प्रक्रिया आरम्भ भएको एक महिनाभित्र पूरा गर्ने।

ज) समायोजन र पुनर्स्थापनामा जाने लडाकुहरुलाई औपचारिक समारोहसहितको विदाई कार्यक्रम डेढ महिनाभित्र आयोजना गर्ने।

झ) राष्ट्रिय सुरक्षा नीति र सेनाको लोकतान्त्रिकरणको योजना निर्माण गर्न सहमतिले कार्यदल गठन गर्ने।

ञ) माओवादी नेतृत्वमा सरकार गठन लगत्तै लडाकु, हातहतियार र कन्टेनर मूर्त रुपमा विशेष समितिलाई हस्तान्तरण गर्ने।

२. शान्ति प्रक्रियाका बाँकी कामहरु बारे
क) वेपत्ताहरुको स्थिति छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग आवश्यक कानूनको निर्माण गरी एक महिनाभित्र गठन गर्ने।

ख) अझैसम्म फिर्ता हुन बाँकी रहेका द्वन्दकालमा कब्जा गरिएका घरजग्गा र सम्पत्तिको हकमा पूर्व सहमति कार्यान्वयन गर्न राज्यले तुरुन्त प्रभावकारी कदम चाल्ने। भूमिहीन सुकुम्बासी र गरिब किसान मोहीहरुले भोगचलन गरिरहेको जग्गाको हकमा राज्यले उनीहरुका लागि वैकल्पिक व्यवस्था गर्ने। उच्च स्तरीय वैज्ञानिक भूमिसुधार आयोगको प्रतिवेदनबारे सहमति कायम गरी तुरुन्त कार्यान्वयन गर्ने। युद्धकालमा राज्यद्वारा पीडितहरुलाई विशेष राहतको व्यवस्था गर्ने।

ग) वाईसीएल लगायत सबै राजनीतिक दलहरुसँग सम्बन्धित युवा संगठन बारेका पूर्व सहमति तत्काल प्रभावकारी ढंगले कार्यान्वयन गर्ने।

घ) दश वर्षे जनयुद्धको क्रममा माओवादी नेता तथा कार्याकर्ताहरुमाथि लगाइएका फिर्ता हुन बाँकी सबै मुद्दा तत्काल फिर्ता लिने वा खारेज गर्ने र फैसला भैसकेका मुद्दाको हकमा आम माफी दिने।

ङ) वृहद् शान्ति सम्झौता र त्यसपछि मधेसी मोर्चा लगायत विभिन्न पक्षहरुसँग गरिएका सहमति, सम्झौता र समझदारीहरु निश्चित कार्यतालिका निर्माण गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने।

च) माओवादी नेताहरुको कार्यान्वयन हुन बाँकी दोहोरो सुरक्षा प्रणालीको तत्काल अन्त्य गर्ने।

छ) माओवादी नेताहरुसँग र शिविरहरुमा रहेका गाडीहरुको नियमन तुरुन्त गर्ने।

३. संविधानबारे
क) राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्यको संघीय ढाँचामा पुनर्संरचना लगायत सहमति कायम हुन बाँकी रहेका संविधानका विषयहरुमा प्रमुख दलहरु बीच तुरुन्त सहमति कायम गरी वा सहमति कायम हुन नसकेमा आवश्यक विधि र प्रक्रिया अवलम्वन गरी नयाँ संविधानको पहिलो मस्यौदा डेढ महिनाभित्र तयार गर्ने।

ख) आगामी ६ महिनाभित्र संविधान निर्माणको काम सम्पन्न गर्ने गरी संविधानसभाको म्याद ६ महिनाका लागि थप्ने।

४. सहमतिको राष्ट्रिय संयुक्त सरकारबारे
क) सहमतिले सबै प्रमुख राजनीतिक दलहरु सहभागी रहेको राष्ट्रिय संयुक्त सरकार तत्काल गठन गर्ने।

ख) सेना समायोजन सहितको शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा हुने बेलासम्म पहिलो कार्यकाल सरकारको नेतृत्व पहिलो ठूलो दल एकीकृत नेकपा(माओवादी)ले गर्ने र त्यसपछिको कार्यकालको सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार सहमति गर्ने।

ग) मन्त्री मण्डलको बाँडफाँड सहमतिका आधारमा गर्ने। संयुक्त सरकारको सञ्चालनको लागि न्यूनतम् साझा कार्यक्रम र आचार संहिता निर्माण गर्ने।

५. राजनैतिक संयन्त्र निर्माणबारे
शान्ति प्रक्रिया, संविधान निर्माण र संयुक्त सरकार सञ्चालन सम्बन्धी विवादको निरुपण गर्न आवश्यक दिशानिर्देश गर्न प्रमुख राजनीतिक दल/मोर्चाका प्रमुखहरु रहेको एक उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने।

२०६८ भाद्र ८
एकीकृत नेकपा (माओवादी)



2 comments:

Uma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Yes, its the spirit.

ritesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yo satya nahuna pani sakchha. tara aileko abasthama maobadilai napatyai hudaina.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।