जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यी कुरामा पो रै'छ बैद्यको बिरोध !

पाँच बर्षदेखि थाती रहेको मुद्दामा हिजो दलहरु सहमतिमा पुगे । यो सहमतिले आशा हराएका नागरिकको मनमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने कुरामा केही आशा जगायो । र, दलहरुप्रति विश्वास पनि । शान्ति प्रक्रियाको आधा हिस्सा रहेको माओवादीका अध्यक्षले पनि सहमतिमा हस्ताक्षर गरे, त्यो पनि बडो प्रशन्न मुद्रामा । कुनै कुनै पत्रपत्रिकामा माओवादी जनसेनाका शिविरमा खुसीयाली मनाएको चर्चा पनि छापिए (हो नै भनेर ग्यारेन्टी चै मैले गर्न सकिन, सायद सो पत्रिकाले विगतमा कहिलेकाँही अनावश्यक हौवा लगाएको असर।) । तर माओवादीका बैद्यपक्षले सो सहमतिको बिरोधमा आज पत्रकार सम्मेलनमात्र गरेनन्, सहमति खारेजीको माग गर्दै सडकमा जुलुससम्म निकाले । सबैले राम्रो भनेको सहमतिमा किन बैद्यले विमति जनाए ? के उल्टो धारको हिडाई मात्र हो त ? बैद्य के भन्छन् ? पढ्नुहोस् । र, हेर्नुहोस् पत्रकार सम्मेलनमा रामबहादुर थापा बादलको भाषणको भिडियो ।


बैद्य के भन्छन् त !


सात बुँदेमा तपाईंहरूको विचार समूहको असहमति के हो?
- यो सहमति पार्टीको केन्द्रीय समितिको निर्णय विपरीत छ। लडाकु समायोजन सुरक्षा क्षेत्र सुधार (एसएसआर) को मान्यता अनुसार नभई निशस्त्रीकरण एवं पुनर्स्थापना (डिडिआर) भएको छ। केन्द्रीय समिति मात्र होइन, संविधान र वृहत शान्ति सम्झौता विपरीत नौबुँदे गरिएकाले विरोध गरेका हौं। समूहगत समायोजन हुनुपर्नेमा व्यक्तिगत योग्यताका आधारमा गर्ने भनिएको छ। मूलभूत रूपमा जनमुक्ति सेनाको समायोजन सम्मानजनक नहुने भएकाले चिन्ता व्यक्त गरेका हौं।

लडाकुले कस्तो सम्मान पाउनुपर्थ्यो?
- जनयुद्ध लडेर संविधान सभा, गणतन्त्र लगायत महत्वपूर्ण उपलब्धी दिलाउन जनमुक्ति सेनाले निर्णायक भूमिका खेलेका थिए। त्यस्ता लडाकुलाई हतियारविहीन बनाएर समायोजन गर्न तयार हुनुभन्दा ठूलो अपमान के हुन्छ?

माओवादीको पदाधिकारी बैठक बसेरै अरू दलसँग यो सहमति गरिएको हैन र?
- प्रक्रिया र पद्धतिका हिसाबले पनि यो सहमति बेठिक छ। मंगलबारको पदाधिकारी बैठकमा पनि मैले र बादलजी (रामबहादुर थापा) ले समायोजन सम्मानजनक हुनुपर्छ, लडाकुलाई निशस्त्रीकरण गर्ने खालको हुनुहुन्न भनेर असहमति जाहेर गरेका थियौं।

तपाईंहरूको सुनुवाइ भयो त?
-अध्यक्षले शान्ति प्रक्रियाबारे निर्णय गर्न बितिसक्यो भन्नुभयो। त्यसपछि हामीले कमसेकम आसन्न केन्द्रीय समिति बैठकसम्म कुरिदिनुस् भनी अध्यक्षलाई अनुरोध गर्‍यौँ। त्यसको पनि सुनुवाइ भएन।

अब के गर्नुहुन्छ?
-असहमतिलाई छलफलमा लिएर जान्छौं। पार्टी कमिटी मात्र हैन, बाहिर आम जनसमुदायसँग पनि यसबारे बहस गर्छौं। पदाधिकारी बैठकले हामीलाई खुला छलफलका लागि अनुमति दिएको छ। जनवादी केन्द्रीयताको विधिअनुसार छलफल चलाउँछौ। विहीबार सुरु हुने केन्द्रीय समिति बैठकमा यसबारे घनिभूत बहस चलाउने तयारी हाम्रो छ। तर हाम्रो आन्तरिक र बाह्य बहस जनवादी केन्द्रीयताको नीति अनुसारै हुनेछ।

पार्टी विवाद छताछुल्ल हुँदा एकता कमजोर हुँदैन?
- कम्युनिष्ट पार्टीमा त्यस्तो असर पर्दैन। पार्टी झन् एकतावद्ध भएर अघि जान्छ। त्यसैले पार्टीले भित्र र बाहिर अभिव्यक्ति स्वतन्त्रता दिएको हो। पार्टी विशिष्ट अवस्थामा भएकाले योभन्दा चर्को विरोध नगरेका हौं।

बिहीबार सुरु हुने केन्द्रीय समिति बैठकमा अब शान्ति प्रक्रियाबारे छलफल गर्नु परेन नि?
- पार्टी नेतृत्वले किन यस्तो सहमति गरेको भनी विस्तृत छलफल हुन्छ। त्यसको मूल्यांकन हुन्छ। त्योभन्दा महत्वपूर्ण नौबुँदे सहमति कार्यान्वयन के कसरी हुने हो भनी गहिरो छलफल गर्छौं।

तपाईँहरुको खेमाको चाहनाविपरीत सहमति हुँदैछ भन्ने पदाधिकारी बैठकमै थाहा पाएर पनि किन तीन दल र मधेसी मोर्चाको बैठकमा सहभागी हुनुभएको?
- हामी वार्ता समितिमा भएका नेता आफूलाई चित्त नबुझेको एजेन्डा छ भन्दैमा भागेर हिँड्ने कुरा आएन। प्रजातान्त्रिक विधिअनुसार जनवादको उच्च अभ्यास गरौं भनेर अरू दलसँगको बैठकमा पनि बसेका हांै। त्यहाँ पनि हामीले जनसेनाको सम्मानजनक समायोजनको कुरा राख्यौं।

त्यसो भए जनमुक्ति सेनाले जस पाएनन् भन्नेमा तपाईंहरू बढी चिन्तित हुनुहुन्छ?
- त्यस्तो ऐतिहासिक भूमिका निर्वाह गरेको सेनाको भूमिका अवमूल्यन नै भएको छ।

सबै मिलिसक्यो, वैद्य समूहको विरोध 'फेस सेभिङ' मात्र हो भन्ने मत पनि छ नि?
-बहस, छलफल र बैठकबाट मत बन्ने हो। हामी आफूलाई लागेको कुरा बाहिर र भित्र अभिव्यक्त गरिरहेका छौं। फेस सेभिङको जरुरत छैन। अल्पमत वा बहुमत जेमा परे पनि आफ्नो धारणा राखिरहन सकिन्छ। हैन र?
प्रस्तुती : किरण भण्डारी/नागरिकन्यूज

राम बहादुर थापा बादलको भाषणको भिडियो हेर्न तल क्लिक गर्नुहोस्



0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।