जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अब आतकंकारी भन्न मात्र बाँकी छ



“संसदमा हाम्रो सबै भन्दा ठुलो संख्या छ । अहिलेका सबै राष्ट्रिय एजेण्डाहरु हाम्रै बलमा स्थापित भएका छन् । हाम्रो माग सर्वमान्य छ, तर हामी चै अमान्य । यो हाम्रो अपमान हो । हामी जस्ता कथित तल्लो बर्गका मानिसहरुले कुनै राष्ट्रिय एजेण्डा ल्याउँन सक्दैनन् भनेर यिनीहरु पुष्टि गर्न खोज्दैछन् । हामी कदापी यो हुन दिने छैनौं । त्यसकारण यो अन्तिम युद्ध यो कारण पनि हो कि हामी यही आन्दोलनबाट हाम्रो शक्ति देखाउँन चाहन्छौ, परिवर्तन चप्पल लगाउँने र खाली खुट्टा हिड्नेबाट पनि सम्भव छ भनेर प्रमाण दिन चाहन्छौ, हाम्रा समस्याहरु काठमाण्डौलाई देखाउँन चाहन्छौं ।” रातो सर्टमा सजिएका एक आन्दोलनकारीले कुनै बरिष्ट नेताले बोल्ने शैलीमा भने । “राष्ट्रिय सहमतिका लागि हामी सडकमा छौं, सरकार हाम्रो विरुद्धमा सेना लगाउँने ध्वाँस दिन्छ भने यो जस्तो अलोकतान्त्रिक सरकार कहाँ छ ? के राष्ट्रिय सरकार अहिलेको आवश्यकता होइन ? संसदमा भोटिङ गरेर सहमतीको राष्ट्रिय सरकार बन्छ ? यसैले यो अलोकतान्त्रिक सरकारलाई नहटाइ हामी गल्दैनौं ।” उनले अझै थपे । उनले यसो भनिरहदा छेउमा रहेका प्रहरीहरु उनी तिर एकोहोरो हेरिरहेका थिए । उपस्थित भिडको संख्याले उनको जोस बढिरहेको थियो ।

माओबादीले थालेको उसकै शब्दमा तेस्रो जनआन्दोलन कति जायज र कति नाजायज यसको बेग्लै छलफल हुन सक्ला । तर ति कार्यकर्ताले भनेका केहि कुरा अबश्य नै जायज छन् । यो जोस यो आक्रोस निराशाको परिणाम हो सायद । यसलाई मात्र एउटा पार्टीको कार्यकर्ताको आवाज र तालिममा नेताले बोलेका कुराको दोहो¥याई हो भनेर कम आक्नु हुन्न । विश्व इतिहासले देखाइसकेको छ, नागरिकमा आएको निराशाले संसारमा धेरै ठुला परिवर्तनहरु ल्याएको छ । सरकार मात्र होइन पुरै व्यवश्थालाई फेरिदिएको छ ।
नेपालमा प्रजातन्त्र आएको धेरै बर्ष भयो । बिभिन्न नेताहरुले आफु प्रधानमन्त्रि भएर फरक फरक तरिकाले प्रजातन्त्रको स्वाद चखाए । रुप बेग्ला बेग्ला भए पनि सारमा सबै उहि भए, भिन्न लेबलका एउटै रक्सि जस्तो । सबैले आफ्नो दुनो सोझ्याउँने भन्दा अर्काे उत्पादक काम केहि गर्न सकेनन् । नेताहरुकै कुर्सि मोहले परिवर्तनको आकांक्षमा तुषारापात भयो । आफ्नै देश भित्र नागरिकहरु सीमान्तकृत भएर बाँच्न बाध्य भए । उनीहरुका समस्याहरुलाई काठमाण्डौले कहिले ध्यानै दिएन । यसैले उनीहरु विद्रोहका लागि आधारस्तम्भ बन्न बाध्य भए । अरु स–साना कारणहरु जे हुन्, दश बर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनमा उनीहरुको त्यो विद्रोह काठमाण्डौको सडकमा पनि छताछुल्ल भएर पोखियो, नेपालबाट राजतन्त्र बिदा भयो । नागरिकहरु सार्वभौम भए तर कांग्रेस र एमालेले जबरजस्ती सहमतीय पद्दतीलाई गणितिय खेलमा फेरिदिए र जनताको सार्वभौमिकता कागजमा मात्र सिमीत भयो । सरकारमा जनताबाट हराइएकाहरुको अधिपत्य रह्यो । फलतः आज फेरि खाली खुट्टा र चप्पलहरु सडकमा छन् । सरकारले प्रतिक्रिया स्वरुप सबै तयारी पुरा गरिसक्यो । अब पुनः आतकंकारी भन्न मात्र बाकी छ ।
यो लेख लेखिरहदा सम्म नेपालको अधिकांश ठाउमा आन्दोलन शान्तिपुर्ण नै छ । तर पहिलो दिन सँग तुलना गर्ने हो भने स्थिती निकै नै फेरिएको छ । ठाउ ठाउमा झडपका घटनाहरु हुन थालेका छन् । झडपमा मृत्युको खवर आउन थालेको छ । यो पक्कै पनि शुभ संकेत होइन । सरकारमा रहेका पार्टीहरु आफ्ना युवा संगठनलाई प्रतिकारमा उत्रन उकासी रहेका छन् । यसले झडप र अशान्ति भन्दा अर्काे परिणाम दिन सक्दैन । तर सरकार आन्दोलनलाई कुनै हालतमा दबाउँने कसरतमा छ । सडकमा उर्लिएको जोस कहिले चक्रपथ घेरेर र कहिले सिहंदरबार घेरेर आफ्नो शक्ति देखाइरहेको छ । यसले देखाउँछ, अशान्ति हाम्रो ढोका अगाडि उभिएको छ ।
आन्दोलनमा जनसहभागीता पनि उल्लेखनिय छ । यसलाई खाली माओबादी कार्यकर्ता भनेर झारा टार्ने गल्ति गर्न हुदैन । जसका कार्यकर्ता भएपनि नेपालका नागरिक हुन र यिनलाई सम्बोधन नगरि नेपालको समस्या सम्बोधन हुने स्थिती रहदैन । राजाका शासनमा मन्त्रिले बोल्ने भाषा ‘बाहिरका मान्छेहरु’ नभनी समस्यालाई बेलैमा सम्बोधन नगरे फेरि हिजोको जस्तो स्थिती नआउला भन्न सकिन्न । सरकार परिवर्तनका लागि उठेको जनलहर सत्ता परिवर्तनका लागि जुर्मुराए देश भिडन्तमा जाने पक्का छ । यसैले जतिसक्दो चाँडो समस्यालाई सम्बोधन गर्नु भन्दा अर्काे उपाय देखिदैन ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।