-हरिहर शर्मा-
‘आँखा चिम्लेर लुतो कन्याउन मजा कि च्यापेको बेला पिसाब फेर्न ?!’, राजधानीको एक ऐतिहासिक भनिने कलेजको ट्वाइलेटमा विद्यार्थीबीच बहस भइरहेको थियो । पिसाब फेर्दाको छोटो समयमा केटाहरुले लामो बहस गर्न भ्याए । ‘लुतो कन्याइसकेपछि पोल्छ’, तर्कपूर्ण मत आयो, ‘सामान्य अवस्थामा पिसाब फेरिसकेपछि पोल्दैन ।’ निष्कर्ष निस्कियो, ‘त्यसैले पिसाब फेर्नमै मजा !’ निस्कर्ष सर्वसम्मत बनाउन केटाहरु दिल खोलेर हाँसे, पिसाब फेरेपछि साँच्चिकै ‘आराम’ हुने तथ्य पुष्टि गर्दै । उनीहरुको उन्मुक्त र छरपष्ट हाँसोले ट्वाइलेटको दूर्गन्ध अरु बिथोलियो !
पिसाब लागेका बेला फेर्ने मौका दिएर ‘मजा’ दिएपनि उक्त कलेजको ट्वालेटको हाल बेहाल थियो। ट्वाइलेट बाहिरबाट सफा पानी भित्र नआउने र भित्र सङ्कलित फोहोर पानी बाहिर नजाने अवस्थामा थियो । ‘तरल’को निकास नै अवरुद्ध भएपनि ‘लेदो’को निकास सम्भव हुने कुरै भएन ! भित्तामा केरिएको थियो, ‘पानी आफै बोकेर आउनुहोला ।’ कलेज ट्वाइलेटको यो लेखोट समग्र शिक्षाप्रणालीमाथिको व्यङ्ग्य थियो । यस्तो नियति करकारी कलेजको साझा हो । अरुको के कुरा, ‘बुढो’ त्रिभुवन विश्वविद्यालयका प्रायशः विभागका विद्यार्थीले प्रयोग गर्ने ट्वाइलेटको हाल यस्तै छ ।
ट्वाइलेट सरसफाई नगर्ने कलेजहरु पानी अभावलाई फोहोरको कारक बताउँछन् । अभाव भएपनि पानीको व्यवस्थापनै गर्न नसकिने होईन । कलेजका स्ववियु पदाधिकारी विभिन्न शीर्षक र बहानामा अपारदर्शी तवरले आफ्ना राजनीतिक काम गर्न खर्च जुटाउन भ्याउँछन् भने पानीको आपूर्ति गर्न पनि भ्याउनुपर्ने हो ! ‘विद्यार्थी हकहित’को नारा जप्ने स्ववियुले यस्ता काममा पनि ध्यान दिनुपर्छ, किनकि यो पनि शैक्षिक संस्थाको वातावरण शुद्धीकरणसँग सम्बन्धित मुद्दा हो । स्ववियुका अनेकन् अपारदर्शी आम्दानी र खर्चको खातापातामा कलेजको ट्वाइलेटमा पानी आपूर्ति शीर्षक पारदर्शी तवरले समेटिए त्यसका कुनै पक्षको पनि विरोध हुनेछैन; बरु त्यसले झन् विद्यार्थीको समर्थन बढाउँछ ।
विचरा कलेज प्रशासनको के कुरा, ऊ ‘हुनु र नहुनुको’ समान हैसियतमा छ । मर्यादित तरिकाले प्रशासनले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न त सक्दैन भने ट्वाइलेट सरसफाइ उसको बसमा के हुन्थ्यो ! कलेज सेरोफेरोमा विद्यार्थी आन्दोलन हुँदा पानीको फोहोरा फाल्न सक्ने सरकारले कलेजमा पानी आपूर्ति गर्नेबारे सोच्नेसम्म गरेको छैन । अरु केही उपाय नलागे, प्रति विद्यार्थी मासिक एक वा दुई रुपैयाँ सङ्कलन गरेर भएपनि पानीको समस्या हल सकिन्छ । यसतर्फ पनि कसैको ध्यान गएको छैन । पानीको अभाव मात्रै समस्याको पूरा कारण हुँदो हो त, पानी पर्याप्त पाइने मोफसलका कलेज ट्वाइलेटहरु सफासुग्घर हुनुपर्ने हो, छैनन् । यसबाट हाम्रो मानसिकता नै फोहोरी रहेको प्रष्टिन्छ ।
कलेजमा मात्र सीमित छैन, पछिल्लो समयमा ट्वाइलेट राष्ट्रिय बहसको विषय बनेको छ । एमआरपी र पर्यटन वर्षका अभियानले ट्वाइलेटलाई चर्चित मात्र होईन, संवेदनशील मुद्दाको रुपमा उजागर गरेका छन् । चर्चा कतै ट्वाइलेट नभएर हुने गरेको छ भने कतै गतिलो ट्वाइलेट नभएर ! पर्यटन वर्ष मनाइरहँदा देशका विभिन्न पर्यटकीय केन्द्र र आकर्षणका क्षेत्रहरुमा गतिलो ट्वाइलेटको व्यवस्था नहुनु राष्ट्रिय लज्जाको विषय बनेको छ । उता, एमआरपी दिन सुरु भएपछि परराष्ट्र मन्त्रालयले ‘पासपोर्ट लिन पाइने ठाउँ’भन्दा ‘पिसाब फेर्न नपाइने ठाउँ’को परिचय बनायो । बिडम्बना ! घुमन्ते पर्यटक हुन् वा गरिखाने जनता, यिनलाई पिसाब फेरेर पाइने ‘खुशी’ दिन पनि राज्य असफल छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै यात्रा गर्दा सेनाले दुई÷तीन ठाउँमा सुरक्षा तलासी गर्छ । सुरक्षा चेकपोष्ट आउँदै गर्दा खलासी कराउँछ, ‘बाहिर फोहोर नगरिदिनुहोला, नथुक्नुहोला ।’ सुन्दा लाग्छ, ‘वा ! क्या गतिलो सरसफाइ मापदण्ड !’ जसै पिसाबले च्याप्दा नजिकै बोरा बेरेर बनाइएका ट्वाइलेटभित्र छिरिन्छ, बाहिर थुक्नसमेत नपाइने नियम हाँस्यास्पद लाग्छ । अत्याधिक पिसाब–चाप थेग्न नसकेर मात्र, नत्र त्यस्तोमा को पिसाब फेर्दो हो ! पिसाब फेर्दा फोहोरबाट आँखा हटाउन आकासतिर हेर्नुपर्ने बाध्यता हुन्छ । दूर्गन्ध बोराले घेरेर घेरिँदैन, खै कुरो बुझिएको ! निकुञ्ज वा सुरक्षा चेकपोष्ट जहाँका हुन्, त्यस्ता चेकपोष्टमा अस्थायी नै सही, तर गतिला ट्वाइलेटको नितान्त जरुरत छ ।
गएको गर्मी सिजनमा काठमाडौँ–हेटौडा–वीरगञ्ज यात्रामा सँगै रहेका महिला साथीहरु पर्याप्त पानी पिउन डराउँथे । कारण थियो, बाटोमा पिसाब फेर्दा हुने हैरानी ! वर्षदिन अगाडि लुम्बिनी जाँदाको पिसाब–हैरानी प्रसङ्ग त्यस्तै छ । हाम्रो टोली ठूलै थियो । गएर लुम्बिनी परिसरको सवारी पार्किङमा ओर्लेपछि ट्वाइलेटको खोजी भयो, भेटिएन । टोलीका महिला सदस्यहरु पुरानो चिनजानको आधारमा एउटा होटलमा छिरेछन् । पछिपछि गएका हामी केटाहरुलाई भने होटल मालिकले ‘यो पिसाब गर्ने ठाउँ हो’ भन्दै हप्काएर फर्काए । तब लुम्बिनी मूल गेट छिर्दा आउने जङ्गलमा गएर प्राकृतिक क्रिया गर्न हाम्रो केटासमूह बाध्य भयो । ‘अरे यार ! किन टेन्सन ?’, टेन्सनमा एकजना साथीले रमाइलो गरे, ‘भगवान बुद्धले जङ्गलमा बसेर तपस्या गर्दा के ट्वाइलेट प्रयोग गरेका थिए होलान् र ! विन्दास गरौँ साथी हो !’
भनिन्छ, कुनै घरपरिवारको सभ्यता ट्वाइलेटको अवस्थाले बताउँछ । हाम्रो देश हामी नेपालीको साझा घर हो । हाम्रो घर पिसाब फेर्ने (उपयुक्त) ठाउँको अभावमा असभ्यको कोटीमा पर्दैछ । यो हेर्दा सानो तर गम्भीर विषय हो । यसतर्फ हरेकले गम्भीर चाँसो दिनुपर्छ । नयाँ संरचना बनाउँदा वा पुराना संरचना भएका ठाउँमा पनि, ट्वाइलेटको उचित प्रबन्ध हुनुपर्छ । विशेषगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको निर्माणमा तीव्रता दिनुपर्छ, सरसफाइ मेण्टेन गर्न स–शुल्क भएपनि । ताकि ‘पिसाबले च्याप्यो, लौन !’ भन्दै तड्पिनुपर्ने अवस्था नआओस् । अन्यथा मान्छे ‘आल इज वेल’ भन्दै आँगन, मन्दिर, चोक र गल्लीमा ‘सु–सु’ गर्न बाध्य हुनेछ, त्यो पनि विना नषामा ! पूरा होसहवासमा !
7 comments:
मेरो विचारमा त पिसाव फेर्न नै मज्जा होला जस्तो लाग्छ । त्यो बेलामा यति आनन्द हुन्छ कि के भन्नु
पिसाव गर्न मज्जा हुन्छ यार ....होइन, होइन, लुतो कन्याउँन ............होइन, होइन पिसाव गर्न......ए होइन लुतो .......होइन पिसाव ...........ओहो के भन्ने
Achamba ko tarka bitark. Ha..Ha...Ha.......
पिसाव फेर्न या लुतो कन्याउन भन्दा पनि मलाइ चै यो लेख पढनै मजा लाग्यो । सानो तर महत्वपूर्ण विषय उठाउनुभएकोमा धन्यवाद । ।
good article. subject is simple but it can make to think . writer's bit.
hats off for harihar ji
Wow!
You deserve round of applause for highlighting an actual & factual matter of Sanitation Crisis. It's a good attempt to draw an attention of concern authority and creating awareness to civil society as well.
In fact, poor sanitation is foremost cause of polluting environment and increasing health risk that directly impacts an economy of nation. A productive article like this can make a difference…
3-CHEERS to an innovative Author!!!
* Kamala
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।