नेपाल धर्म निरपेक्ष भएपनि गाई नै नेपालको राष्ट्रिय जनवार रहिरहेको छ । यसका अतिरिक्त गाई हिन्दुहरुको लागि आश्थाको प्रतिक हो । गाईको जीवन र मृत्यु दुबै हिन्दुहरुका लागि महत्वपुर्ण हुन्छ । तर एक्काइसौं शताब्दिको विश्वव्यापीकरणका कारण हाम्रा आश्था, विश्वास र दर्शनहरु पनि परिवर्तन हुदै जादैछन् । जस्तो देश उस्तै भेष भन्दै स्थानियसँग मिल्नका लागि कतिपयले नचाहादा नचाहादै पनि धर्म र संस्कृतिलाई पर धकेल्न बाध्य भएका हुन्छन् । यसैको उदाहरण स्वरुप विदेशिएका हिन्दुहरुले गाई र गाईको मासुप्रति दर्शाउने धारणा हेर्न सकिन्छ ।
यसैको उदाहरणस्वरुप यहाँ नेपालबाट अमेरिका भर्खर पुगेका एक हिन्दु विद्यार्थीले त्यहाँ भोगेको भोगाइ र उनले गाईको मासुका बारेमा बनाएको धारणा पेश गरेको छु । उनले यो लेख उनको फेसबुकमा लेखेका थिए, जसको यहाँ भावानुवाद गरिएको छ ।
-Boshop Boston-
हिन्दुहरुका लागि गाई एउटा पबित्र जनावार हो । धेरै धार्मिक तथा सांस्कृतिक विश्वासका कारण पनि गाई हिन्दुहरुका लागि पुजनिय हुन्छ । प्राचिन समय देखि नै गाईलाई दुध, दहि तथा घ्युका लागि पाल्ने गरिन्छ । जब जीवनको मुख्य आधार कृषि थियो, त्यो बेला गाईको महत्व अझ बढि र स्पस्ट थियो । गाईको महत्व यति धेरै थियो कि गाईको पिसाब तथा गोबरको पनि धार्मिक तथा अन्य कार्यमा धेरै उपयोगिता रहन्थ्यो । त्यसकारण, हिन्दुहरु गाईपुजा (यो दिन गाईलाई टिका, तिलक लगाइदिएर तथा फलफुल र अन्न दिएर पुजा गरिन्छ ।) र गाई जात्रा (यो दिन सडकमा गाईहरुलाई श्रृंगारेर हिडाइन्छ ।) जस्ता बिशेष दिनहरुमा गाइको पुजा गर्ने गर्दथे ।
वर्तमान समयमा पनि कृषकहरु गाईको मलमुत्रलाई कृषिमा जैविक मलका रुपमा प्रयोग गर्ने गर्दछन् । पुर्वीय संस्कृतिमा गाईको पिसाबलाई मानिस शुद्ध पार्न र गाईको मलमुत्रले आफ्नो घरआँगन तथा भान्छा शुद्ध पार्न तथा लिप्न पनि प्रयोग गर्छन् । जुन कुरा पश्चिमाहरुको लागि अनौठो हुन्छ । यसको अर्थ पुर्वीय दर्शनमा गाईको पिसाब सिसा सफा गर्ने तरल जतिकै र गोबर भुई सफा गर्ने रसायन जत्तिकै अर्थपुर्ण छ ।
हिन्दु परिवारमा गाईको पिसावलाई धार्मिक कार्य सुरु गर्नुभन्दा पहिले शुद्ध हुनका लागि शरिरमा छर्कने या पिउँने गरिन्छ । जसले धार्मिक रुपमा शुद्ध बनाउँने उनीहरुको विश्वास हुन्छ । उदाहरणका लागि, हिन्दुहरुको परम्परा अनुसार मासिक रजस्वला भएको समयमा महिलाहरु अशुद्ध र छुन नहुने हुन्छन् । यदि त्यही समयमा उनीहरुले अरुलाई छोएमा त्यो छोइएको मानिस पनि अशुद्ध हुने गर्छ । जसलाई गाईको पिसाब छर्केर वा पिलाएर शुद्ध बनाउँन सकिन्छ ।
हिन्दुहरुको मृत्यु संस्कारमा पनि गाईको पिसाब प्रयोग गरिन्छ । मलामी गएका वा काजक्रियामा बसेकाहरु पनि पिसाबलाई प्रसादको स्वरुप मानेर पिएपछि चोखिएको मानिन्छ । माटो तथा ढुंगाले बनेका घरहरुमा घरलाई दह्रो र नयाँ जस्तै बनाउँन गाईको गोबरले बेला बेला लिप्ने गरिन्छ । गाईको गोबर र रातो माटोले घरका भुई अथवा घर प्रवेश गर्ने मुल ढोकामा लिप्ने गरिन्छ । यसो गर्दा घर शुद्ध रहने र किटपतंगहरु भाग्ने विश्वास गरिन्छ ।
जब कुनै हिन्दु अमेरिका आउँछ तब उसले त्यहाँ गाईको मासुले बनेको परिकारहरु झ्याप्झ्याप्ती देख्न पाउँछ । मलाई अझै पनि याद छ, जब म अमेरिका उत्रिए, मेरो एउटा हिन्दु साथीले भन्यो यहाँ गाईको मासुका परिकार नखाने हो भने भोकै परिन्छ । यहाँ गाईको मासु नखाई अरु नै खानेमा विकल्प छैन । म अमेरिकाको लागि नयाँ विद्यार्थी भएकाले मैले सहजै उसको कुरा पत्याए । र, कठिनता पुर्वक मैले गाईको मासुले बनेको परिकार खाएँ । त्यो त्यस्तो वेस्वादिलो पनि थिएन ।
हप्तादिन सम्म लगातार अमेरिकामा सोहि परिकार खाइसके पछि जब मैले अर्को हिन्दु साथीलाई भेटेर थाहा पाएँ अमेरिकामा गाईको मासु नखाए भोकै परिन्छ भन्ने कुरा साँचो रहेनछ । वास्तवमा उसले मलाई मुर्ख बनाएको रहेछ । त्यसपछि मलाई थाहा भयो मैले ध्यान दिएर होटलको मेनु नै पढेको रहेनछु । त्यहाँ त धेरै किसिमका कुखुरा, माछाका परिकारहरु पनि थिए । त्यसबेला मलाई एउटा विदेशी विद्यार्थीले भन्यो अमेरिकामा धेरै द्धिविधा र धेरै सूचनाबाट एउटा सहि सूचना निकाल्नु कठिन कुरा हो । त्यो केटोले गाईको मासु खुवाएर तिमीलाई मुर्ख बनाएछ ।
म कोठामा फर्के र मेरो सँगै बस्ने हिन्दु साथीलाई भनेँ । उसको कुराले म थप अचम्भित भएँ । उसले भन्यो, यहाँ अमेरिकाका गाईहरु हाम्रा गाई जस्ता पवित्र र पुजनिय हुदैनन् । तिनीहरु मानिसको सम्पर्क भन्दा धेरै टाढा हुर्काइन्छन् । तिनीहरुको मलमुत्र पनि धार्मिक महत्वको हुदैन । तिनीहरुको पिसाव र गोबरले भुइ र भान्साहरु सफा गरिदैनन् । तिनीहरु मासुका लागि मात्र पालिएका हुन्छन् । त्यसैले, त्यसरी पालिएका गाईहरु खानु भनेको हिन्दु धर्मको बिरुद्धमा होइन ।
त्यसपछि मैले थाहा पाएँ । मानिसको तर्क र धर्म एकआपसमा मिल्दैनन् । यसैले गाईको मासुका बारेमा के गर्ने म टुंगोमा पुगेको छैन । अहिले मैले के गर्नुपर्ला ? धार्मिक विश्वास या वैज्ञानिक आधार ?
सरकारले सोमबार व्यवस्थापिका संसदमा फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो छ
परिच्छेद २७
चौपाया सम्बन्धी कसूर२९१ गाई गोरु मार्न वा कुट्न नहुनेः १) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु हुँदैन।
२) उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो काम गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ।
३) कसैले गाई वा गोरुलाई कुटी अंगभंग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
४) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेमा कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गए वा त्यस्तो गाई वा गोरुलाई चोट पुगेको रहेछ भने यस दफा बमोजिम कसुर गरेको मानिने छैन।
२९२ चौपाया प्रति निर्दयी ब्यबहार गर्न नहुनेः १) कसैले कुनै चौपायालाई कुटी हिर्काइ वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्र्य भन्दा बढी दौडाई वा रोग घाउ खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन।
२) उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तीन महिनासम्म कैद वा जरिवाना वा दुवै हुनेछ।
२९३ सार्वजानिक स्थलमा चौपाया मार्न नहुनेः १) यस संहितामा अन्यथा ब्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै चौपायलाई परम्परा देखि बलि दिँदै आएको धार्मिक स्थलमा बाहेक अन्य कुनै पनि सार्वजानिक स्थलमा मार्न हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि सार्वजनिक स्थल भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवतजावत गर्ने ठाउँ सम्झनु पर्दछ।
२) उपदफा १ बमोजिमको कसुर गर्ने ब्यक्तिलाई १ महिनासम्म कैद वा जरिवाना वा दुवै हुनेछ।
२९४ हद म्यादः दफा २९२ अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको मितिले र यस परिच्छेद अन्तरगतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले ३ महिना नाघेपछि उजुर लाग्ने छैन।
6 comments:
देश अनुसारको भेष त गर्ने पर्छ । तर त्यसको नाममा आफ्नो पहिचानको रुपमा रहेका सबै कुरा छाड्नु कति सम्मको व्यवहारिकता हो ? गाईलाई हामीले आमा समान मानेर पुजा गरेका हौ, यसैले जहाँका भएपनि गाई हाम्री आमा हुन् ।
आफ्नो आफ्नो खुसी हो । नेपालमा कानुन भित्र रहुन् । आफ्नो अधिकार भनेर अरुहरुको संवेदनामा नखेलुन् । अरु त जे गरे पनि हुन्छ ।
एउटा गाईलाई नखादा के हुन्छ ? जहाँ पुगे पनि हामी नेपाली हौ र नेपालको राष्ट्रिय जनवार गाई हो । यसको सँधै सम्मान गरौं ।
देशमा भएको सहिष्णुता कायम गराउँन हामीले साना साना कुरामा पनि ध्यान दिनु पर्छ । कुनै मुसलमानलाई माथिबाट काटिएको मासु खान बाध्य नपारौं अनि कुनै हिन्दुले देख्ने गरी उसको छेउछाउमा गाई माथि कुनै अधर्मी काम नगरौं । आखिर हामी सबै दाजुभाई त हौं ।
धर्म भन्दा पनि आश्थाको कुरा हो । आश्थामाथि प्रहार राम्रो होइन । कुरान, बाइबल जलाउँनु र गाई मार्नु उस्तै हो । अर्काको आश्थाको ख्याल गरौं ।
यो कुरा सामान्य जस्तो लाग्छ । तर यसको गहिरो अर्थ छ । यसमा वास्ता नगरे समाजमा ठुला लडाई हुनसक्छन् । यसैले सबै सचेत हौ । मेरो विचारमा गाई सबैतिरका सम्मानिय हुन्छन् ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।