जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जय माता सरस्वती !

आज सरस्वती पुजा । बसन्त पञ्चमी या श्रीपञ्चमी पनि भनिन्छ आजको दिनलाई । तर सानैदेखि मनमा गडिएर बसेर नै होला, सरस्वती पुजा भन्नमा नै राम्रो र प्यारो लाग्छ । सरस्वती पुजा भन्ने बित्तिकै पहिलेका रमाइला सम्झनाहरुको दौड सुरु हुन्छ । बिहानै उठेर नुहाएको, घरमा हतार हतार मेवा झारेर काटेको खुब याद आउँछ । गाउँमा कस्को घरमा उखु छ, ल्याएर काटिन्थ्यो । सरस्वती पुजाका लागि भने पछि जसको घरबाट जे फलफुल झारेर ल्याएपनि हुने । फुल जति टिपे पनि हुने । बर्षभरि नपाइएको स्वतन्त्रता सरस्वती पुजाको दिन पाइन्थ्यो । हामी यसकै फाइदा उठाएर केही धेरै फलफुल जम्मा गर्थ्यौं र पछिलाई भनेर बेग्लै लुकाउँथ्यौ । यसरी हतार हतार गरेर तयार पारेको फुलपाती बोकेर स्कुल गएको अनि नठाटी भन्ने हो भने पुजा कतिबेला सकिन्छ र प्रसादमा पाइने बुनियाँ खान पाइन्छ भनेर बुनियाँ तिर हेरेर बसेको खुब याद आउँछ । अरु साथीका नजर पनि बुनियाँमा निकै गडिएको हुन्थ्यो । हामी हेराहेर गरेर एकअर्कालाई गिज्याउँथ्यौँ ।

तर बुनियाँ खाने जतिसुकै लालचा भएपनि पुजा गर्न कुनै कसुर बाँकी राखिदैन थियो । खुब मन लगाएर पुजा गरे पनि सरस्वती मातामा भर परेर नपढ्ने भने गरिएन । खुब रमाइलो गरियो झै लाग्थ्यो पुजाको दिन । एकछिन है सन्दर्भहरु जोडिदै र टुट्दै हुन थाल्यो । यसैले सरस्वती पुजाको सन्दर्भ मिलाएर भन्छु, हेर्न भित्र आउँनुहोस् है ।


सरस्वती पुजा आउँनु भन्दा हप्ता दिन अगाडी देखि नै हरेक कक्षामा मोनिटर बनाईन्थ्यो । अरु बेला मोनिटर नभए पनि पुजाका लागि पैसा उठाउँनु पर्ने भएकोले त्यसबेला त मोनिटर अनिवार्य राखिन्थ्यो । मोनिटरले आफ्नो आफ्नो कक्षाबाट पैसा बटुल्थे । पैसा उठाउँने रे भनेको सुनेको दिन देखि घरमा कचकच सुरु गरिन्थ्यो । प्राय घरमा पुजाकै दिन लग्लास् भन्थे । तर साथीहरुको अगाडी सबैभन्दा पहिला पैसा दिनुको शान किन नदेखाउँने भनेर घरमा झगडै गरिन्थ्यो । तर त्यसरी उठाएको त्यती पैसाले कहाँ पुग्नु ? नौ दश कक्षामा पढ्ने दाईदिदीहरु बाटोमा डोरी टाँगेर, पसल पसल गएर चन्दा उठाउँथे । यो क्रम सरस्वती पुजाको हप्ता दश दिन देखि सुरु भएर अघिल्लो दिनसम्म चल्थ्यो ।

सरस्वती पुजाको अघिल्लो दिन स्कुल सफा गरिन्थ्यो । चौर, कोठा सबै सफा गर्ने काम हामी विद्यार्थी कै हुन्थ्यो । हामी सानो छहुञ्जेल चौरका कागत र प्लाष्टिक टिप्थ्यौं । ठुलाहरु बडो फुर्ति लगाउँदै स्कुलको जस्ताको फोहोर सफा गर्थे । जस्ताको छानोमा चढ्नेहरु साना गनिदैनथे । स्कुल सफा गर्न ठुला दाईहरु जस्ताको छानामा चढेको देख्दा कहिले ठुलो भएर जस्ताको छानो सफा गर्न पाइएला झै लाग्थ्यो । हुन पनि उनीहरुको धाक नै त्यस्तै हुन्थ्यो ।

पहिले मैले पढ्ने स्कुलमा सरस्वतीको मन्दिर थिएन । नौ दश कक्षामा पढ्ने दाई दिदीहरुले अलिक चन्दा उठाउँन सके सरस्वतीको मुर्ति पुजा गर्न पाइन्थ्यो । होइन भने कुनै किताब च्यातेर सरस्वतीको ब्लाकएण्डह्वाइट फोटो पुजा गरिन्थ्यो । आफ्नै किताबमै भएको फोटो भएपनि पुजारीले अगाडी बसेर मन्त्र पढ्दै गरेको देख्दा साक्षात् सरस्वती त्यही फोटोमा भए झै लाग्थ्यो । लौ सबैले हातमा फुल बोकेर आँखा चिम्लेर मन मनमा जाँचमा पास हौ भनेर सरस्वतीको पुजा गर । सरले माइकबाट भन्नुहुन्थ्यो । हामी केटाकेटी फेरी सरले अब फुल फोटोमा चडाऔ नभनुञ्जेल आर्शिवाद मागेको माग्यै हुन्थ्यौं ।

अलिक पछि हाम्रो स्कुलको एकापट्टी सरस्वतीको मन्दिर बनाइने भयो । हामी आफैले काठ, ढुँगा र माटो बोक्यौ । हेर्दाहेर्दै हाम्रो स्कुलमा मन्दिर बन्यो । सरस्वतीको मुर्ति राखियो । त्यो बर्ष जस्तो धुमधाम पुजा अगाडी कहिलै भए जस्तो लागेन । चुना दलेर सेतै बनाएको हाम्रो मन्दिर हाम्रो लागि संसारकै पुन्य ठाउँ र संसारकै सबैभन्दा ठुलो मन्दिर जो थियो ।

सरस्वती पुजाको प्रसाद स्वरुप हामीले नै घरबाट ल्याएको फलफुल बाडिन्थ्यो । र, बिशेष भनेको बुनियाँ हुन्थ्यो । ठुला दाईदिदीहरुले बुनियाँ बनाएका हुन्थे । सबैसँग पाएको खाईवरी कतिखेर चिनेको मान्छेले बुनियाँ बाड्न ल्याउँछ र मागुम् भनेर ढुकेर बस्थ्यौं ।

प्रसादमा धेरै थोरै जति बुनियाँ पाएपनि हाम्रो लागि सरस्वती पुजाको महत्व घटेन । बिशेष लाग्थ्यो । अलिक बुझ्ने भएपछि आफ्नो संस्कृति प्रति गौरव पनि लाग्न थाल्यो ।
यो त भयो मेरो अनुभव । तपाईको पनि लेख्नुहोस् है ।


3 comments:

प्रविन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रो पनि यस्तै हुन्थ्यो । तपाईको र मेरो पुजामा फरक रहेनछ । मलाई बुनिया चै मन नपर्ने । बरु हामी चै साथीहरु मिलरे सरस्वती पुजा सकिएर सबै गए पछि चौरमा घुम्थ्यौ । झरेको पैसा टिप्नलाई । अचेल पनि सम्झदा हास उठ्छ ।

मनीता निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खुब रमाइलो हुन्छ । तर हामी निजी पढ्नेहरुले चै पैसा मात्र ल्याउँनु पर्ने बाँकी सबै काम अरुले । लास्टमा प्रसाद खायो । सकियो ।

मधुकर पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरस्वती पुजा भनेको विद्यार्थीहरुलाई किताबको सम्मान गर्न सिकाउँने दिन हो । यसलाई धार्मिक आश्थाका रुपमा मात्र लिनु हुँदैन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।