जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जीवन एक पानीको फोका


-गणेश कार्की
मलाई लाग्दैछ दैनिकी लेख्नु बेकार छ, खास गरि मेरो स्तरको जीवनमा, मेरो ढाँचाको जीवनमा । यी कुराहरु जसलाई म आफ्नो डायरीमा सार्दैछु ( हो त जीवनबाट डायरीमा ) । यी कुराहरुको जिन्दगीसँग के सरोकार होला ? यी कुराहरु दो¥याएर पढ्ने फुर्सद मसँग पछि रहला–नरहला ( चामलको भाउ बढेको बढयै छ ) न त यी कसैका लागि प्रेरणा बन्न सक्छन्, न त यसले कुनै किसिमको अर्थ बोक्न सक्छन् । अल्छि दिमाग यो पढे पछि पनि अल्छि नै होला, रिसाहा रिसाहा नै । कसैमाथी बेअसर छ भन्ने जान्दा–जान्दै पनि लेख्न बस्नु बेफकुपी नै होला । कहिलेकाही बेफकुपी पनि रमाइलै हुन्छ ।
हरेक दिन ज्ञानेश्वरबाट बागबजार ट्युसन पढ्न जान्छु भनेर लेख्नुमा के अर्थ भेटिएला र ? ( त्यो पनि पैदल )
हरेक दिन ट्युसन पछि क्याम्पस फेरि हिड्दै जान्छु भनेर लेख्नुमा पनि त अर्थ छैन । क्याफेमा बसेर चिया पिएको कुराले जीवन असर पार्दाे हो त ?
सब बेकार छ, बेअसर कुराहरु । खाली दिन कट्यो भनेर जनाउँने सुचकहरु ।
आज हाम्रो टोली, म बाहेक काभ्रे पुग्यो नबेको दाइको बिबाहमा, बिहान भरि पुरानो बसपार्कमा मलाई पर्खिएर । म नगएको झ्वाकमा खुब गाली गरे होलान् । “कुकुर के आउँथ्यो कुरायो मात्रै” कर्मठले भन्यो होला । “फोन गरेर भनेको भए पनि हुने नि” प्रेमले बोल्यो कि । “ढिलो नगरौ चाँडै जाँउ, भ्याइयो भने भरे नै फर्किनु पर्छ” दिवश वा राजु बोले होलान् । ज्याकेटका गोजीबाट हातै ननिकाली चन्द्रे (बान्द्रे) बोल्यो होला, “भाडा चै मसँग छैन है ।”

“उनीहरु चै भोजमा मस्त, हामी चै चिसोमा ? हिँड जाँउ घाम ताप्न, यँहा स्नेहाहरु बस्दै गर्छन् ।” शान्ताले भनि । आजभोली क्याम्पसमा कामको चटारो छ, शुशिला, कृपा, सुमिताहरु सबै लागिपरेका छन् । शैक्षिक भ्रमणका लागि पैसा जम्मा गर्न अनेक कार्यक्रमहरुको तयारी चल्दैछ । तर जे होस् हाम्रो क्लासमा एकता छ । हरेकको खबर हरेकलाई थाहा हुन्छ ।
घरि–घरि किरण आउँछ र, दोहोरीकै तालमा कराउँछ, “केटाहरुको खर्चै ज्यादा । पेट्रोल र खाजामा त कति–कति ।” किरणदाई मह काड्नेले हात त चाटिहाल्छ नि हैन ?
यी केहि कुराको अर्थ छैन । अर्थहिन सम्वादहरु आजका दिनका । केटाहरुले मलाई कुर्नु, शान्ता र म दर्तामा बस्नु, शुशिलाले क्लास छाडेर पेपर काट्नु, किरणका गफ केहि अर्थ छैन । ज्यादा भन्दा ज्यादा भोली सम्म याद रहला पर्सि देखि सबै खलास् ।
दिनहरुले बर्ष बन्छ र, त्यही केहि बर्षको हाम्रो जीवन । एउटा दिन निरर्थक बित्यो, यसै गरि बर्ष बित्छ । के हाम्रो जीवन पनि यस्तै त होईन ? मोबाईलमा फोटो डिलीट गरे जस्तो । भोली अर्को खिचिन्छ आजको डिलिट हुनुमा किन गुनासो ?

आजको दिनको अध्ययन पछि मलाई लाग्यो हाम्रो जीवन कुनै असरदार चिज बन्न सकिरहेको छैन वा सकेन । आज हामीले भरेको ठाउ भोली खाली हुन्छ र, पर्सि कसैले त्यो खाली पनि भरिदिन्छ । खै त्यसपछिको हाम्रो नाम? खै हाम्रो अस्तित्व ? अहिलेसम्म एउटा यस्तो काम गर्न सकिएको छैन, जो कसैका लागि गुन बनोस्, कसैका लागि नासो या क्रण बनोस् । केहि त फरक परोस हामी हुनुमा र नहुनुमा । केहि त अर्थ बोकोस् हाम्रो जीवनले । म फगत पानीको फोका बन्न चाहन्न ।
एकेडेमीमा राखेका किताब जस्तो अवमुल्यन नहोस् जीन्दगीको । बस् यत्ति, सम्झिने कोही हुन्, सम्झाउने कोही ।
(अस्कलको सम्झना)


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।