जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राजधानीमै सुरुङ मार्ग !


सचेन गौतम
नयाँ पत्रिका
काठमाडौं, २३ फागुन
बाटो काट्नका लागि ‘सब-वे’ प्रयोग गरिरहेका काठमाडौंका बासिन्दाले सार्वजनिक यातायातका लागि पहिलोपटक सुरुङ मार्ग प्रयोग गर्न पाउने भएका छन् ।
चाबहिल, कोटेश्वरलगायतका क्षेत्रमा गाडीको चापलाई कम गर्न काठमाडौंको तिलगंगाबाट गुह्येश्वरीसम्म ४ सय मिटरको सुरुङ बनाई वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको हो । पशुपति क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई असर पर्न नदिन तिलगंगामा रहेको वाग्मतीको पुलबाट गुह्येश्वरीसम्म सुरुङ मार्ग निर्माण गर्न लागिएको डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख बलराम मिश्रले जानकारी दिए ।
सुरुङ मार्ग निर्माणका लागि सडक विभागले डिजाइनको कामलाई अगाडि बढाइसकेको छ । ‘सुरुङ मार्ग निर्माणका लागि डिजाइनको काम अगाडि बढिरहेको छ,’ मिश्रले नयाँ पत्रिकासँग भने, ‘सुरुङ निर्माण यसै आर्थिक वर्षबाट सुरु गर्ने तयारीमा छौँ ।’
सुरुङ आरसिसी ढलान गरेर बनाइने र दुई लेनको हुने प्रारम्भिक खाका छ । निर्माणको लागत भने सुरुङको विस्तृत डिजाइन तयार भएपछि मात्रै अनुमान गर्न सकिने मिश्रले बताए । नेपालमा अहिले जलविद्युत् आयोजनाले मात्रै सुरुङ मार्गको प्रयोग गरिरहेका छन्

भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभाग, पुरातत्त्व विभाग, पशुपति क्षेत्र विकास कोषको केही साताअघि बसेको संयुक्त बैठकले सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
चाबहिल क्षेत्रको सवारी चापलाई कम गर्न दुई वर्षअघि वैकल्पिक मार्गका रूपमा तिलगंगाबाट गुह्येश्वरीसम्म ट्रयाक खोलिएको थियो । तर, पशुपति क्षेत्र विकास कोषले सडक निर्माण भए पशुपति क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई असर गर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले अन्तरिम आदेश दिएपछि सडक निर्माण कार्य रोकिएको थियो । तर, कोषले अदालतबाट मुद्दा फिर्ता लिएर नै सुरुङ मार्ग निर्माणका लागि पहल गरिरहेको छ । सुरुङ मार्ग निर्माण भएमा चाबहिलको सवारी चाप घट्नेछ भने कोटेश्वर जान पनि यसलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिनेछ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।