जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

खेल भित्रको खेल: MATCH FIXING


खेलाडीमा कुनै उत्साह छैन । न त राम्रो फुटबल खेल्ने प्रयास नै गर्छन् । गोल गर्ने खेलाडीको मुहार पनि उज्यालो देखिँदैन । नत त उनीहरू आफूले गरेका गोलको खुसी नै मनाउँछन् । गोलकिपरलाई छक्याएर खाली पोस्टमा पुर्‍याएको बल पनि गोल लाइनबाट आफैं फर्काउँछन् । अनि आफ्नै गोलपोस्ट वरिपरि रहेका विपक्षी खेलाडीलाई पास दिने गर्छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो चरणको पछिल्ला खेलका विशेषता हुन्, ती । जहाँ कुनै उत्साह छैन । फुटबलको रोमाञ्चकता पाइँदैन । न त स्वाभाविक प्रतिस्पर्धा नै देखिन्छ । यस्तो स्थितिमा ब्वाइज युनियन र जावलाखेलको खेल दशरथ रंगाशालामा हेरिरहेको भेटिएका चाबहिलका दीपक ढकालले अचम्म मानिरहेका थिए । ‘कस्तो खेल ?,’ अनुहार खुम्च्याएर उनले भने, ‘खेलाडीमा जोस खै ? बलका लागि संघर्ष गरिरहेजस्तो लाग्दैन । कुनै खेलाडीको नियन्त्रणमा रहेको बल खोस्ने प्रयाससमेत गरेजस्तो देखिँदैन ।’
हुन पनि खेल दीपकले भनेजस्तै थियो, कुनै खेलाडीले गुडाउँदै बल लाने र विपक्षी खेलाडी हेरिरहने । ‘यस्तो खेल हेर्नु त समयको बर्बादी हो,’ हाफ टाइममा रंगाशालाबाट बाहिरिँदै उनले बताए । त्यस खेल ब्वाइज युनियनले ७-१ ले जितेको थियो । तर कुनै पनि गोलमा खेलाडी उमंग थिएनन् । त्यसैले रापिलो घाममा प्यारापिटमा थोरै देखिएका दर्शक द्विविधामा परेका थिए । एउटै प्रश्न उनीहरूले गरे, खेलमा किन जोस र रोमाञ्च छैन ?’

ब्वाइज युनियन र जावलाखेलबीचको प्रतिस्पर्धा मात्र होइन, दोस्रो चरणका थुप्रै खेल उस्तै निरासाले छाएको थियो । दर्शकको चाह नतिजामा थिएन । खेल राम्रो नभएको मात्रै उनीहरूले गुनासो गरे । एपीएफले मच्छिन्द्रलाई ८-० ले हराएको खेलमा पनि दर्शकको समान गुनासा र प्रश्न थिए ।
अन्ततः क्लबका पदाधिकारीले नै मुख खोले, ‘म्याच फिक्सिङ भइरहेको छ ।’ खेलपछिको पत्रकार सम्मेलनमै म्याच फिक्सिङको बारेमा बोल्ने पहिलो व्यक्ति थिए, एपीएफका व्यवस्थापक प्रेमकुमार श्रेष्ठ । आफ्नो टिमलाई रेलिगेसनमा पार्न संकटा र ब्वाइज युयिनसँग ठूला क्लबहरू थ्रीस्टार, मनाङमस्र्याङदी, एनआरटी र मच्छिन्द्रले मिलेमतो गरेको उनले आरोप लगाएका थिए ।
धेरै क्लबले उनको आरोपको खण्डनसमेत गरे, फेरि त्यस्तो नबोल्न चेतावनी पनि दिए । तर नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा भने चुपचाप रह्यो । न त उसले श्रेष्ठको आरोपको खण्डन नै गरे, न त झूटो आरोप भनेर उनलाई कारबाही नै गर्न सक्यो । यसअघि ११ औं चरणमा एनआरटी र फ्रेन्ड्सको खेलमै म्याच फिक्सिङको आरोप लागेको थियो, खेलाडीलाई । त्यसमा प्रशिक्षक मृगेन्द्र मिश्रले आफ्ना गोलकिपर रूपक श्रेष्ठलाई खेलाएनन् । ‘रूपकलाई एनआरटीसँगको खेलमा नखेलाउने आन्तरिक निर्णय हो,’ मिश्रले भनेका थिए । त्यसपछि उनले कहिल्यै रूपकलाई गोलपोस्टको जिम्म दिएनन् । किनभने उनमा रूपकप्रति विश्वास थिएन ।
लिग समाप्तिको संघारमा आइपुग्दा धेरै तथ्य छर्लंग भइसकेको छ । उपाधि होडमा होइन, रेलिगेसनबाट बच्नका लागि म्याच फिक्सिङको भित्री खेल भएको थियो । आरोप लगाउने र खण्डन गर्नेको पोस्टम्याच कन्फ्रेन्समा जुहारी नै चल्यो । खेलाडी, प्रशिक्षक, व्यस्थापक र क्लबका पदाधिकारी म्याच फिक्सिङको आरोपबाट मुक्त हुन सकेनन् । ब्वाइज युनियन रेलिगेसनमा परेपछि धेरै रहस्य बाहिर आयो । ब्वाइज युयिनका प्रशिक्षक कुमार कटुवालले पत्रकारमाझ भनेका थिए, ‘अघिल्लो लिगमा मच्छिन्द्रलाई गाह्रो पर्दा हामीले छोडेका थियौं । यस पटक हामी रेलिगेसनको संघारमा पर्दा उसलाई सहयोग गर्न भन्यौ । तर मानेनन् ।’ त्यसले तीन वर्षपछि सम्भव लिगका खेलको नतिजा अगाडि नै तय भइसक्ने स्पष्ट पारेको थियो ।
नेपाली फुटबलमा म्याच फिक्सिङ नौलो भने होइन । एन्फाका उपाध्यक्षसमेत रहेका एनआरटी अध्यक्ष नरेन्द्र श्रेष्ठ भन्छन्, ‘पहिले लिगमा म्याच फिक्सिङ हुने गथ्र्यो ।’ संकटाले खेलाडीलाई गरेको कारबाही म्याच फिक्सिङको प्रमाण हो ।
संकटाले ब्वाइज युनियन र जावलाखेलसँगको खेलमा शमशेर खत्री, कमल विष्ट र सौरभ श्रेष्ठलाई खेलाएनन् । नखेलाउनुको एउटै कारण ‘म्याच फिक्सिङ’ भएको संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले भने, ‘प्रतिद्वन्द्वी टिमका प्रशिक्षकले उनीहरूलाई योजनाबारे निर्देशन दिएका थिए । त्यसैले हामीले खेलाएनौं र त्यो एक किसिमको कारबाही हो ।’ तुलाधर एन्फाका कार्यकारी अधिकृत पनि हुन् । संकटाबारे उनले भने, ‘फिक्सिङको आरोप आधारहीन छ । यत्य हो भने हामी रेलिगेसनमा पर्दैनथ्यौं ।’
पहिलो चरणमा प्रभावशाली प्रदर्शन गरेको मच्छिन्द्र पनि म्याच फिक्सिङको आरोपले निकै आलोचित रह्यो । मच्छिन्द्रका प्रशिक्षक मेघराज केसीले भने, ‘बाहिरबाट हेर्दा फिक्सिङजस्तो देखिए पनि प्रमाणको अभाव हुनसक्छ ।’
स्पष्ट नीतिको अभाव
यो लिगमा उपाधिको होड, रेलिगेसनको प्रतिस्पर्धा र रोमाञ्चक खेलभन्दा पनि बढी चर्चा पाएको ‘म्याच फिक्सिङ’ मा एन्फा मुकदर्शक नै छ । ‘ए’ डिभिजन क्लबका प्रतिनिधिकै बाहुल्य एन्फाका माथिल्ला पदमा भएकाले उनीहरुसँग पनि शंका गर्नुपने देखिन्छ । पूरै मिडियामा चर्चा हुँदा पनि म्याच कमिस्नर र एन्फाको अनुशासन कमिटीले म्याच फिक्सिङबारे रिपोर्ट त के क्लब, खेलाडी र पदाधिकारीलाई स्पष्टीकरणसमेत लिएको छैन ।
लिगमा म्याच फिक्सिङको हल्ला सुनिएको छ र त्यो प्रमाणित भए क्लब, खेलाडी र व्यवस्थापकलाई कडा कारबाही गर्ने एन्फा अध्यक्ष गणेश थापाले एक कार्यक्रममा बताएका थिए । तर उनको बोलीले पनि दशरथ रंगाशालाको प्रतिस्पर्धालाई प्रभावित पार्न सकेन । उनले कान्तिपुरसँग भने, ‘म्याच फिक्सिङबारे अहिले हामीसँग स्पष्ट नीति छैन । त्यसैले अर्को लिग सुरु हुँदासम्म नीति तयार गरिसक्नेछौं । त्यसलाई कडा रूपमा कार्यान्वयन गर्नेछौं । योपल्ट भने हामीसँग ठोस प्रमाण छैन । त्यसैले केही गर्नसक्ने स्थिति छैन ।’
केही अघि एन्फाको अनौपचारिक बैठकमा म्याच फिक्सिङबारे कुरा उठेको थियो । त्यसमा स्पष्ट नीति र विशेषज्ञ टोलीको समिति बनाउनेबारे चर्चा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा म्याच फिक्सिङलाई ठूलो अपराध मानिन्छ । यस्तो आरोप प्रमाणित भएपछि इटालीको युभेन्ट्सजस्ता ठूला क्लबलाईसमेत घटुवा गरिएको थियो । हाम्रै छिमेकी चीनमा पनि दुई ठूला क्लबलाई कारबाहीस्वरूप घटुवा गरिएको थियो । नेपालमा पनि त्यस्तै नीति र त्यस्को कार्यन्यवन खाँचो भइसकेको छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।