परमाणु प्लान्टमा विस्फोट भएर हानिकारक विकिरण चुहिएको जापान सरकारले पुष्टि गरिसकेको छ। अब एसियाली देशहरुले आवश्यक सावधानी अपनाउन जरुरी छ। यदि पानी पर्यो भने पहिलो २४ घण्टासम्म घरभित्रै बस्नुस्, झ्याल र ढोकाहरु बन्द गर्नुस्, बेटाडिनसहितको कपडाले घाँटीको छाला छोप्नुस्। विकिरणले पहिला थायरायडमा आक्रमण गर्छ। थप सावधानी अपनाउनुस्। विकिरण आजै करिब चार बजे फिलिपिन्समा पुग्न सक्छ। यदि आज वा आगामी केही दिनभित्र हङकङमा पानी परे पानीमा नभिज्नुस्। यदि तपाईँ बाहिर हुनुहुन्छ भने छाता वा रेनकोट प्रयोग गर्नुस्, सिमसिममात्र पानी परेको भए पनि। पानीमा हुनसक्ने रेडियोएक्टिभ वस्तुहरुले पोल्ने, एलोपेसिया हुने वा क्यान्सरसम्म गर्न सक्छ। कृपया यो सन्देश अरुलाई पनि बाँड्नुस्।
के तपाईँले बीबीसीको नाम उल्लेख भएको यस्तै इमेल पाउनु भएको छ ? के यस्तै सन्देश फेसबुकमा देख्नुभएको छ ? त्यो पढेर डराउनुभएको छ ? नडराउनुस्। यो हल्ला फैलाउनेहरुको नचाहिने काम हो।
जापान प्रकृतिको विपत्तिबाट जुध्दैछ। अनि त्यसैमा मज्जा लिन चाहने केही विकृत मानसिकता भएकाहरुले यस्तो हल्ला फैलाएका हुन्। के हो त वास्तविकता ?
बीबीसीको नामबाट यस्तो इमेल फैलिएपछि बीबीसी आफैले यो गलत हो भन्दै आफ्नो वेबसाइटमा स्पष्टिकरण राखिसकेको छ। हेर्नुस् यहाँ क्लिक गरेर आज दिउँसो फेसबुकप्रेमी एक जना साथीले नेपालमा पनि पानी पर्यो भने जापानको विकिरणको असर पर्छ रे नि त भन्दै सुनाउँदै थिए। मैले हावा कुरा हो भन्दा उनले मेरो कुराभन्दा फेसबुकमा कुनै मान्छेले पोस्ट गरेको कुरालाई पत्याएको जस्तो देखियो। माइसंसारको फेसबुक पेजमा पनि एक जनाले माथि कै व्यहोराको इमेल पोस्ट गर्न भ्याइसकेछन्।
अझ फिलिपिन्समा त हल्ला यति फैलिएछ कि कामदारहरु र स्कूल गएका बच्चाहरुलाई घर फर्काइएछ। सरकार आफैले यो हल्ला गलत हो भनेर आधिकारिक रुपमा भन्नु परेछ।
हो, जापानमा आज चौथो दिन परमाणु प्लान्टमा तेस्रो विस्फोट भएपछि सरकार आफैले विकिरण (radiation) स्वास्थ्यलाई खराब असर पार्ने गरी बाहिर चुहिएको पुष्टि गरेको छ। अझै विकिरण धेरै स्तरमा फैलिने संभावना भएको पनि साँचो हो। राजधानी टोक्योमा र घटनास्थलबाट ५ सय माइल पर रहेको रुसी सहर भ्लादिभोस्टोकमा समेत विकिरणको स्तर नाप्दा सामान्यभन्दा बढी पाइएकै हो। तर ती ठाउँमा स्वास्थ्यलाई खराब असर पर्ने गरी विकिरणको स्तर बढेको हैन।
अहिलेसम्म विस्फोट स्थलको ३० किलोमिटर वरपरका क्षेत्रमा मात्र विकिरणको खराब असर पर्ने बताइएको छ। २० किलोमिटर वरपर बस्नेलाई सुरक्षित ठाउँमा जान र ३० किलोमिटर वरपर बस्नेलाई घरभित्रै बस्न आग्रह गरिएको छ। ३० किलोमिटर पारीका क्षेत्रमा विकिरणको असर पर्छ भन्ने पुष्टि भएको छैन। त्यसैले एसियाका देशहरुमा समेत यसको असर पर्छ भन्नु र नेपालमा समेत असर पर्छ भनी हल्ला गर्नुको कुनै तुक छैन। यदि तपाईँले यस्ता इमेल पाउनु भएमा अरुलाई फरवार्ड गर्ने वा फेसबुकमा देख्नुभएमा त्यसलाई आफ्नो वालमा राखी हल्ला थप फैलाउने काम नगर्नु होला।
from: mysansar.com
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।