जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं'

थाहा पाउँनु भयो कि भएन, आज विश्व मुटु दिवस हो । दिनभर मिडियाहरुले यो समाचारलाई प्रमुखता दिएका थिए । पक्कै पनि तपाईले थाहा पाउँनु भयो । यद्यपी समाचार नसुन्ने वा वेवास्ता गर्नेहरुका लागि एक झलक । 'एक विश्व एकघर, एक मुटु' भन्ने नाराका साथ विश्वभर आज मुटु दिवस मनाईयो । नेपालमा भने 'मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं' भन्ने नारा पनि थप गरिएको थियो ।  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार मुटु तथा मुटुजन्य रोगका कारण प्रतिवर्ष विश्वमा १ करोड ७३ लाख मानिसको अकालमा ज्यान जाने गरेको छ । अल्पविकसित तथा अविकसित मुलुहरुमा यो तथ्याङ्क उच्च रहेको संगठनको भनाइ छ । नेपालमा पनि मुटु रोगीहरु असाध्यै रहेको अनुमान गरिन्छ तर ठ्याक्कै तथ्याकं त सायदै छ ।


नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटु रोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायत देश बढी जोखिममा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीका अनुसार चार-पाँच वर्ष अघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, हिजोआज १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटु रोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटु रोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने डा. रेग्मीले बताए । उनी भन्छन्, 'केही समय अगाडिसम्म मुटु रोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्थ्यो । तर, हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटु रोगीको संख्या बढाइरहेको छ ।'विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभरि बर्सेनि एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ ।


मटु रोगमा पनि हृदयाघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटु रोगका कारण भयावह स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले मुटु बचाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रका प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् । चिकित्सकहरूका अनुसार मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटु रोगको कारक हो । डा. रेग्मी भन्छन्,'आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटु रोग बढ्नाका कारण हुन् । महिलामा पनि बढ्यो मुटु रोगपछिल्लो वर्षमा महिलामा पनि मुटु रोग बढ्न थालेपछि चिकित्सकहरू चिन्तित बनेका छन् । चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ ।

महिलाका शरीरमा मात्र पाइने 'फिमेल हार्मोन'ले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुका रोग देखिन थालेको छ । डा. रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा पनि मुटुको समस्या बढिरहेको छ । चिकित्सकहरूले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने बताए पनि फेरिँदो जीवनशैली र आराम अभावमा समस्या बढ्दै गएको बताएका छन् ।महिलामा पनि मुटु रोगको समस्या बढ्दै गएपछि विश्वभरि 'गो रेड फर वुमन' अर्थात् 'महिलाका लागि रातो संकेत' अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा. रेग्मीले बताए । उनका अनुसार महिलालाई मुटु रोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो । पछिल्लो समयमा महिनावारी नरोकिएका महिलामा हृदयाघातको प्रमुख कारण परिवारनियोजनको उद्देश्यले खाने औषधि (ओरल कन्ट्रासेप्टिक पिल्स) रहेको चिकित्सकहरूले बताएका छन् । मुटु रोगआममानिसमा मुटु रोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटका अन्य रोगमा पनि रहेका छन् । डा. रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकहरूले मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसम्बन्धी मुटु रोग भनेर तीन भागमा बाँडेका छन् ।

जुन रोग यसप्रकार छन् जन्मजात मुटु रोग कुनै केटाकेटीलाई जन्मजात नै मुटु रोग लागेको हुन सक्छ । डा. रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । उनी भन्छन्, 'गर्भधारण गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ, जसकारण बालकलाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।' चिकित्सकहरूका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकीले सताइराख्ने, शिशुको, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण हुन् । बाथमुटु रोग यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने गरेका केटाकेटीलाई एककिसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोका कारण् पछि गएर मुटुको भल्ब खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ ।

जीवनशैलीसँग सम्बन्धित मुटु रोगमुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट कोलेस्ट्रोल (बोसो) जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । त्यस्तै, मुटु रोगमध्येको उच्च रक्तचाप पनि एक खतरनाक रोग हो ।

हाम्रो मुटु खुम्चिने र फुलिने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् 'ब्लड प्रेसर' भनिन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमि मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । डा. रेग्मीका अनुसार रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । उनी भन्छन्, 'दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ, त्यसकारण यो एक खतरनाक रोग हो ।'हार्ट फेल पनि मुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । डा. रेग्मीका अनुसार यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । उनी भन्छन्, 'यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिगि्रएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।' उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक-फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।

मुटु रोगका प्रमुख लक्षण:
मुटु रोगका लक्षणबारे धेरैलाई जानकारी छैन । यसकारण मानिस ढिलागरी उपचारका लागि अस्पताल वा उपचारका लागि चिकित्सककहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, कुनै काम वा परिश्रम गर्दा दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औँलाका टुप्पा नीलो हुनु आदि सबै मुटु रोगका लक्षण हुन सक्छन् । डा. रेग्मीका अनुसार मुटुका केही रोगजस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह आदिको कुनै लक्षण्ा नहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । यसकारण मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारणबाट हुन्छ । मुटु रोग थोरै लक्षण तर धेरै खतरा भएको रोगमा पर्छ ।

नेपालमा मुटु रोगी:
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् । प्रतिष्ठानका अध्यक्ष डा. रेग्मीका अनुसार मुटु रोगबाट हुने मृत्युको संख्या कुल मृत्युको २५ प्रतिशत रहेको छ । १८ वर्षभन्दा माथिका उच्च रक्तचापद्वारा पीडित रोगीको संख्या २० प्रतिशत रहेको छ । मघुमेहद्वारा पीडित काठमाडौँका १८ वर्षमाथिका १० प्रतिशत रोगी रहेका छन् । धूमपान गर्ने जनसंख्या ४० प्रतिशत र बाथ मुटु रोगी १ दशमलव २ प्रतिशत रहेका छन् । जन्मजात मुटु रोगी पाँचदेखि १५ वर्षका बालबालिका १ दशमलव ० प्रतिशत रहेका छन् । मटु रोगको अस्पतालमा भर्ना भएकामध्ये कारोनरी मुटु रोगी ३९ प्रतिशत, उच्च रक्तचापपीडित ७, बाथ मुटु रोगी २० र जन्मजात मुटु रोगी ६ प्रतिशत रहेका छन् । प्रतिष्ठान तथा मुटु रोगसँग सम्बन्धित १९ संस्थाको सञ्जाल हार्ट नेपालका अनुसार नेपालमा मुटु रोग बढ्ने क्रममा छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँचगुणाले वृद्धि भएको छ ।


मुटु रोगबाट बच्ने उपाय:
मुटुका सबै रोगलाई एउटै पद्धतिबाट रोकथाम गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त रहने आदि सर्वसम्मत विषय हुन् । चिकित्सकहरूका अनुसार यिनीहरूलाई नै आधार बनाएर धेरै हदसम्म मुटु रोग रोकथाम गर्न सकिन्छ । धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन र जीवनशैलीमा सुधार ल्याउनुपर्छ । डा. रेग्मी भन्छन्, 'मुटु रोगबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपाय जस्तै धूमपान तथा मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ ।' उनका अनुसार प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ । डा. रेग्मीले मुटु रोगबाट बच्न धूमपान त्याग्ने, मोटापन घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने, रक्सीको सट्टा फलफूलको रस पिउने, मानसिक तनावबाट टाढा रहने, जीवनलाई सुखी बनाउने तथा नियमित स्वास्थ्य परीक्षण गराउने सुझाब दिन्छन् । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ ।

मुटु रोगका प्रमुख लक्षण:
* छातीको बीचभागमा दुख्ने
* दम बढ्ने -काम वा परिश्रम गर्दा)
* खुट्टा सुन्निने
* धाँटीको रक्तनली फुल्ने
* ओठ, जिब्रो र औँलाका टुप्पा नीलो हुने
* औंलाका टुप्पा बाक्ला र चाक्ला हुने
* चक्कर लाग्ने
* मुटु हल्लिने
* जोर्नी दुख्ने -बालबालिकामा
* कफमा रगत देखिने

मुटु रोग रोकथामको उपाय:
* धूमपान त्याग्ने
* मोटापन घटाउने
* नियमित व्यायाम गर्ने
* सन्तुलित आहार लिने
* फलफूलको रस पिउने
* मानसिक तनावबाट बच्ने
* जीवनलाई सुखी बनाउने
* नियमित स्वास्थ्य परीक्षण गराउने
* चिल्लो पदार्थ कम सेवन गर्ने
* मद्यपान त्याग्ने

1 comments:

प्रमोद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आफ्नो मुटु हो । आफै नजोगाए कसले जोगाइदिन्छ । त्यसैले आफै अग्रसर होआंै ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।