जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

‘पुराने जिन्स और गिटार...!’

-हरिहर शर्मा-

‘थ्याङ्क गड !’
एउटी युवती खुशीले उन्मुक्त हुँदै कराइन्, ‘एट लिस्ट फाइभ मिनेट जाम भइजाओस् ।’ बस प्याक थियो । दुईजना बस्ने सिटमा उनीसँगै बसेका अरु दुईजनाले उनको खुशीमा साथ दिए । तीनैजना प्लस–टु पढ्ने नौजवान थिए । जुन कुरा तिनको फर्मल ड्रेसले बताउँथ्यो । पुतलीसडकबाट कोटेश्वर जाने क्रममा बस वानेश्वरमा जाममा परेको थियो । साँझ छिप्पिदै गर्दा, हिउँदका छोटा दिन, सबैलाई घर पुग्न हतार थियो । बस जाममा पर्दा खुशी हुने र कम्तीमा पाँच मिनेट जाममा परियोस् भनी कामना गर्ने ती युवतीको भनाइले धेरैलाई अचम्मित बनायो होला । मलाई भने त्यो अभिव्यक्ति अस्वभाविक लागेन । किनभने, प्लस–टु सकेको दसक पुग्न लागेको भएपनि, मलाई प्लस–टु उमेरको मनोभाव राम्ररी थाहा थियो । र, म एक्लै मुस्कुराएँ ।

मैले झल्यास आफ्नो ‘प्लस–टु’ उमेर सम्झेँ । कुकुरको पुच्छर बाङ्गिएको देख्दा पनि हाँसो उठ्ने त्यो उमेरको माया लागेर आयो । बसको एउटै सिटमा बसेका उनीहरु (दुईटा केटी र एउटा केटा) को लोभलाग्दो दैनिकीदेखि थोरै ईष्र्या पनि लाग्यो । म खिन्न भएँ एकछिन त, आफूसँग त्यस्तो निस्फिक्री–उमेर बाँकी नरहेकोमा । थाहै नपाई धेरै छिटो वितिजाने समयको स्वभाव मलाई कत्ति मन परेन । ईष्या र खिन्नतामिश्रित मनोभाव बोकी छिनमै म फ्ल्यासब्याकमा पुगेँ चलचित्रमाझैँ । मेरो मन–मस्तिष्कमा आफ्नो प्लस–टु उमेरका घटनाक्रमहरु खेल्न थालेँ । भाडा उठाउँदै आएको कण्डक्टरको आवाजसँगै म वर्तमानमा पछारिएँ । भाडा तिर्दा भन्न मन लाग्यो, ‘भाइ मसँग पनि कार्ड छ है !’ तर म त ‘बुढो’ पो भइसकेछु ! के गर्नु, भिजिटिङ कार्डले बसभाडामा छुट पाइँदो रहेनछ ! त्यतिखेर मलाई जागिरे हुनुभन्दा विद्यार्थी हुनुमै आकर्षण लाग्यो ।

साँच्चै रमाइला थिए ती दिनहरु । कलेज सुरु भएको केही दिनमै ३० जना व्यक्तिको अपरिचित हुल ‘आफ्नो’ भएको थियो । सरले ‘प्रोपर्टिज अफ ट्रयाङ्गल’ पढाइरहँदा त्यसलाई त्रिकोणात्मक व्यक्ति–सम्बन्धमा लिङ्क गर्दाका क्षणहरु धेरै प्यारा थिए । इलेक्ट्रिसिटी पढाउने सरको पाइण्टको फस्नर खुला भएको खबर पहिलो बेञ्चबाट लाष्ट बेञ्चसम्म कागजको टुक्रामा लेखिएर पुग्दा ठूलो हाँसो उठेको थियो । विचरा सर लाजले भुतुक्कै ! पहिलेका नेपाली पढाउने सरले विद्यार्थीको उद्दण्डता थेग्न नसकेर मगाइएकी मोमिला (साहित्यकार) म्याडमको पढाउने शैली र गुणस्तर तथा विद्यार्थी नियन्त्रणको रणनीति उत्तिकै आकर्षक थियो । मोमिला म्याडमको पढाउने शैलीको प्रशंसा आज पनि गर्छु म, जब वहाँलाई भेट्छु । यस्ता सबै याद स्मरणीय छन् । जति प्रयास गरेपनि क्लासमा कहिल्यै पहिलो हुन सकिएन, सधैँ दोस्रोको दोस्रै; यो कुराले भने बिझाइरहन्छ ।

कम्प्युटर ग्रुप (हाम्रो क्लास) सँग बाइलोजी ग्रुपको ग्याङफाइट हुँदाको आतङ्क र सो बारेमा क्लासका ‘ज्ञानी’ मध्येका दुईजना (म र एक जना अर्को) बाट घटनाको जानकारी लिन प्रशासनद्वारा लिइएको बयान प्लस–टु पढ्दाको सबैभन्दा यागदार घटना रह्यो मेरा लागि । ‘यो तिम्रो दोष हैन, उमेरको हो, इट्स ओके’, एउटी केटीले जिस्किने क्रममा हदै गरेपछि मैले यस्तो समेत भन्नुपरेको थियो एकदिन । मैले यसो भन्दा त्यो केटीले महसुस गरेको ग्लानी सम्झिँदा आज ‘धेरै भनेछु’ कि जस्तो लाग्छ । एकोहोरो बोर्डमा लेख्दै गर्दा, ‘ओहो डेरिभेसन नै भुलिएछ, प्य्राक्टिस पुगेनछ !’ भन्ने फिजिक्स पढाउने सरको अभिव्यक्ति मस्तिष्कमा ताजै छ । ‘ऋतिक काण्ड’ हुँदाको आक्रोस सम्झिँदा आज पनि रगत तातिन्छ । परीक्षाको अघिल्लो दिन दरवार हत्याकाण्ड हुँदा शवयात्रा हेरेर बसेको रात र भोलिपल्ट परीक्षा स्थगन भएको दिन कसरी भुल्न सकिन्थ्यो र !

दसक पुगिसकेको छैन मैले प्लस–टु सकेको । र पनि जिन्दगीको भागदौडले धेरै बुढो भइएछ जस्तो बोध भइरहेछ । अलिकति दायित्व बढ्दै जाँदा, थोरै अरुको लागि बाँच्न सुरु गर्दा जिन्दगीमा मस्तीका लागि समय निकाल्न गाह्रो हुँदोरहेछ । थाहा छ, परिपक्वता ठूलो कुरा हो । यद्यपि, परिपक्व उमेरमा चञ्चलता खुबै ‘मिस’ गरिँदो रहेछ । प्लस–टु उमेरको लोभलाग्दो समयलाई फेसबुकको नेटवर्किङले विर्साउन सक्दो रहेनछ । जिन्दगी जिउने नाममा, धेरै साथीहरु नियमित सम्पर्कबाट बाहिर गइसकेका छन् । यसरी बाहिरिनेको सूची लम्बिँदो छ । हुन त आज जो जहाँ छन्, रमाइलोमा दिन विताइरहेका होलान् । नयाँ परिवेशमा जिन्दगीलाई नयाँ नाम र पहिचान दिन सबै लागिपरेका होलान् । तथापि, ‘हातैमा जे धुलो झरेपछि त्यै सुनको फूल’ भनेझैँ आफूसँग नभएको त्यो उमेर मलाई धेरै प्रिय लाग्दैछ । मलाई आजभन्दा हिजोको माया लागिरहेछ ।

बस जाममा फसेकोमा उत्साहित भएका प्लस–टु युवाहरुले मलाई मेरो विगततिर जाने मौका दिए । अरुलाई नपच्ने उनीहरुको बोली र व्यवहारले मलाई भने भावुकतातर्फ डोर्‍यायो । बसबाट ओर्लेर घर पुगी लुगा पनि नफेरी मैले घन्काएँ गीत, ‘पुराने जिन्स और गिटार...!’ गीत मेरो फेवरेट थियो नै, सान्दर्भिक पनि !

5 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

त्यो सबै उमेरको कमाल हो । निष्फिक्री भएर क्यान्टिनको टेवल ठोकेर गीतमा हराउँनुको जुन मज्जा छ, त्यो साला जिन्दगीमा अरु के मा छ र ? एक पटक आएको जिन्दगी मोजले बिताईयो । कुलतमा नफसी मोजमा बिताउँन म सबैलाई आग्रह गर्छु ।

प्रभु देवान said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हरिहरजी लेख मार्फत पुराना दिनहरु सम्झाईदिनु भएकोमा धन्यवाद । एक पटक फेरि कलेजको केन्टिनमा गएर टेवल ठोक्दै गाउँन मन लाग्यो, पुराने जिन्स और गिटार ।

Sandesh Magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice article. we all love this songs and we have lots of story about this song in our life.

विवेक शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

केटीहरु त्यस्तै हुन् हिजोआजका । छाडिदिउँ फेरि नारी स्वतन्त्रताका कुरा उठ्लान् ।

मनमोहन विश्वकर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो लेख । ननसेन्समा पनि सेन्स हुन्छ भनेको यही हो सायद ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।