जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मिसावट भएनभएको कसरी थाहा पाउँने ?

दशैँ भन्ने बित्तिकै परिकार त त्यसै जोडिएर आउँछ । दशैँमा विभिन्न परिकारहरु खाँदै परिवार र आफन्तसँग रमाउँनु दशैँको बिशेषता नै हो । तर अहिलेको बजार हेर्दा हामीले सोचे जस्तो परिकारहरु पाउँन सजिलो देखिदैन । घरमा बनाएका परिकारहरुमा मिसाईने अवयवहरुमा विश्वास गर्न निकै पटक सोच्नु पर्ने भएको छ । यदि बिषाक्त र अशुद्ध परिकार बन्यो भने दशैँ दशा बन्न सक्छ । यसैले मिसावटमा खुब ध्यान दिनु पर्ने भएको छ । वाणिज्य विभागले दशैँ नभनी खट्ने जानकारी दिईसकेको छ । यदि तपाईले कतै मिसावट भएको देख्नु भयो भने ०१४२६२३६९ मा फोन गर्न वाणिज्य विभागले आग्रह गरेको छ । तर सबैभन्दा मुख्य कुरा तपाईको सचेतता हो । थोरै मात्र ध्यान दिदा मिसावट भए नभएको थाहा हुन सक्छ । मिसावट भएको नभएको थाहा पाउँने तरिका जान्नुहोस् ।

-अतुल मिश्र-
मुलुकमा अहिले जताततै मिसावटको चर्चा छ । ठाउँ-ठाउँबाट मिसावटयुक्त खाद्यपदार्थ समातिने क्रम जारी नै छ । उपभोक्तामाझ एक्कासि मिसावटले थप चर्चा पाएको छ । प्रायः सबैको पारिवारिक बजेटको अधिकांश भाग खाद्यपदार्थमै खर्च हुन्छ । उपभोक्ता न्यूनतम मूल्यमा अधिकतम वस्तु प्राप्त गर्न चाहन्छन् । उपभोक्ताको यो स्वभावसँगै व्यापारी र उत्पादकले बढी लाभ प्राप्त गर्न दुवै मिलेर यस्तो दुष्चक्रको निर्माण गर्छन्, जसले वस्तुको गुणस्तरमा ह्रास आउँछ । कुनै पनि खाद्यपदार्थमा कुनै बाहिरी तत्त्व मिसाइएको वा कुनै तत्त्व निकालिएको, अनुचित प्रक्रियाबाट संग्रह गरिएको र दूषित स्रोतबाट प्राप्त गरिएको छ भने मिसावट भएको मानिन्छ ।


'सामान्यतः यसरी नै मिसावटलाई परिभाषित गर्छां,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा भन्छिन् । मिसावटी खाद्यपदार्थ अत्यधिक र धेरै समयसम्म निरन्तर उपयोगले अन्धोपन, पक्षघात, ट्युमर जस्ता घातक रोग हुने सम्भावना हुन्छ । मिसावटले उत्पन्न विषाक्तताले शरीरका प्रमुख अंगमा प्रभाव पार्दै मृगौलालाई समेत काम नलाग्ने बनाउँछ । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक डा.ऋषिकुमार काफ्ले भन्छन्, 'सबै विषाक्तता हामी नजानीकन शरीरमा थुपारिरहेका छौं ।'

स्वास्थ्यका दृष्टिले मिसावटी तेल, मसला र खाद्यपदार्थ धेरै हानिकारक छ । विज्ञहरूका अनुसार मुख्य रूपमा खाद्यपदार्थमा मिसावटका कारण आज थुपै्र व्यक्ति पेट रोगबाट ग्रस्त छन् । झाडापखाला, रक्तचाप, ग्यास्टि्रक, कलेजो सुन्निनु, जन्डिस र कलेजोको समेत क्यान्सर हुने खतरा बढिरहेको छ । खाद्यपदार्थमा मिसावट परीक्षण गर्नु धेरै सजिलो छ । 'सामान्य आइएस्सीको पढाइ हुने स्थानमा विद्यार्थीहरूले सहजै मिसावट छुट्टयाउन सक्छन्,' रसायनशास्त्री डा.विनयकुमार झा भन्छन्, 'यसो गर्न कुनै खासै रसायन वा प्रयोगशाला चाहिँदैन ।'

'भान्सामा उपलब्ध सामग्रीबाटै मिसावट थाहा पाउन सकिन्छ,' लामा भन्छिन्, 'तर गृहिणीहरू खाद्यपदार्थ किन्दा चनाखो भए धेरै हदसम्म मिसावटबाट बच्न सकिन्छ ।'

खुर्सानीको धुलो
खुर्सानीको धुलोमा इँट्टा, बालुका चूर्ण, अखाद्य रंग मिसाइन्छ । मिसावटबारे जान्न एक चम्चा खुर्सानीको धुलोलाई पानी भरिएको ग्लासमा हाल्नुस् । पानी रंगीन हुन्छ भने खुर्सानीको धुलो मिसावटी हो । इँट्टा वा वालुवाको कण छन् भने त्यो ग्लासको पिँधमा थिगि्रन्छ ।

खुवा
खुवामा मुख्य रूपले स्टार्च मिसाइन्छ । यसबारे जान्न सानो टुक्रा लिएर पानी मिसाएर उमाल्नुस् । फेरि यसमा आयोडिनको केही थोपा दिनोस् । नीलो रंगको तह देख्नुहुन्छ भने स्टार्च मिसाएको पक्का हो । औषधि पसलबाट आयोडिन पाउन सकिन्छ ।

बेसार
बेसारमा रंग र इँट्टाको धुलो मिसाइन्छ । मिसावट जान्न एक चम्चा बेसारलाई टेस्टट्युबमा हालेर सान्द्र हाइड्रोक्लोरिक अम्लको केही थोपा हाल्नुस् । यसो गर्दा बैजनी रंग देखिन्छ र मिश्रणमा पानी हाल्नाले यो रंग गायव भयो भने बेसार असली हो । रंग कायमै रहन्छ भने यो नक्कली ।

तोरीको तेल
यसमा आर्जिमोन मिसाइन्छ । थाहा पाउन सान्द्र नाइटि्रक एसिड मिसाएर हल्लाउनुस् । केही समयपछि एसिडको तहमा रातो, खैरो रंगको तह देखियो भने तेलमा आर्जिमान छ भन्ने बझ्नुस् ।

चाँदीको बराक
मिठाई, पान लगायतमा सुन्दरता बढाउन उपयोग गरिने चाँदीको बराकमा पनि मिसावट हुन्छ । मुख्य रूपमा आल्मुनियमको मिसावट गरिन्छ । थाहा पाउने विधि सजिलो छ । चाँदीको बराक डढाउँदा त्यतिकै तेलको सानो थोपाका रूपमा परिणत हुन्छ । तर मिसावटी चाँदीको बराक डढाउँदा भने गाढा खैरो रंगको अवशेष बाँकी रहन्छ ।

पिठो
रोटीको स्वाद फिक्का छ भने बुझ्नुस कि मिसावट छ । पिठोमा पानी बढी लाग्यो र रोटी राम्ररी फुल्यो भने पिठो सक्कली हो ।


चियापत्ती
यसमा पनि रंग मिसाइने गरिन्छ । चियापत्तीको शुद्घता परीक्षण गर्न चिनियाँ माटोको कुनै भाँडो वा सिसाको प्लेटमा कागतीको रस हालेर त्यसमाथि अलिकति चियापत्तीको धुलो हाल्नुस् । कागतीको रसको रंग सुन्तला रंग वा अर्को रंगको भयो मिसावट छ भन्ने बुझ्नुपर्छ । सक्कलीमा भने हरियो मिश्रति पहेंलो रंग देखिन्छ ।

मह
महमा चिनी र पानी मिसाइन्छ । यसमा भएको मिसावट थाहा पाउन रुई (कपास)को सानो डल्लोलाई महमा भिजाउनुस् र आगो लगाउनुस् । महमा चिनी र पानीको मिश्रण छ भने रुई (कपास) बल्दैन ।

चना र रहरको दाल
यसमा खेसरीको दाल र मेटानिल पहेंलो रंगको मिसावट गर्ने गरिन्छ । परीक्षण गर्न दाललाई एउटा टेस्टट्युबमा हालेर पानी हाल्नुस् र हलुका हाइड्रोक्लोरिक अम्लको केही थोपा हाल्नुस् । टेस्टट्युबलाई हल्लाउँदा घोलको रंग गाढा रातो भयो भने दाल मिसावटयुक्त हो । खेसरी दालको परीक्षण भने ध्यानपूर्वक हेरेर गर्न सकिन्छ ।

चनाको बेसन
बेसनमा खेसरी दालको मिसावट गरिन्छ । थाहा पाउन टेस्टट्युबमा आधा चम्चा नमुना लिएर पिपेटको माध्यमले तीन मिलिलिटर पानी मिसाउनुस् । त्यसैमा तीन मिलिलिटर नुन वा अम्ल मिसाउनुस् । टेस्टट्युबलाई तातो भाँडामा डुबाउनुस् । १५ मिनेटपछि त्यसको रंग बैजनी भयो भने खेसरी मिसावट छ भन्ने बुझ्नुपर्छ ।

मरिच
यसमा मेवाको बीउ मिसाइन्छ । मरिचलाई पानीमा हाल्नुस् । यदि मेवाको बीउ छ भने पानीमा तैरिन्छ ।

हिङ
हिङ खानाको स्वाद र सुगन्ध बढाउन मात्र नभई घरेलु औषधिको रूपमा उपयोग गरिन्छ । हिङमा सबैभन्दा बढी मिसावट हुने गरेको पाइन्छ । यसको मिसावट परीक्षण भने सजिलो छ । शुद्घ हिङलाई आगोको ज्वालामा डढाउँदा ज्वाला झन् चहकिलो हुन्छ । हिङलाई सफा पानीमा धुँदा रंग सेतो वा दुधिया भयो भने हिङ शुद्घ हो ।

धनिया/मसला
यसमा काठको धुलो मिसाइन्छ । आधा चम्चा मसला लिएर एउटा ग्लासमा पानी भरेर घोल बनाउनुस् । मसला ग्लासको पिँधमा जम्मा हुन्छ र काठको तैरिन्छ ।

दूध
विभिन्न रसायनको सहयोगले नक्कली दूध बनाउने प्रक्रिया सीमावर्ती भारतीय क्षेत्रमा देखिएको भए पनि मुलुकमा भने दूधमा सबैभन्दा बढी मिसावट फोहोर पानीकै हुने गर्छ । दूधमा पानीको मिसावट थाहा पाउन ल्याक्टोमिटरद्वारा सापेक्षिक घनत्वलाई जानेर दूधको शुद्घता थाहा पाउन सकिन्छ । शुद्घ दूधको सापेक्षिक घनत्व १.०३० देखि १.०३४ सम्म हुन्छ । दूधलाई बाक्लो बनाउन पिठोसमेत हाल्ने गरिन्छ । यसलाई पहिचान गर्न टेस्टट्युबमा दूधको तीन मिलिलिटर नमुना लिएर त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउनुस् । नीलो अथवा गाढा नीलो रंगको भयो भने दूधमा मिसावट भएको मान्नुपर्छ ।

मख्खन/घ्यू
यसमा वनस्पति घ्यू मिसाइन्छ । मिसावट जान्न हाइड्रोक्लोरिक अम्ल -१० सिसी र एक चम्चा चिनी मिसाउनुस् । यस मिश्रणमा १० सिसी घ्यू वा मख्खन मिसाउनुस्, राम्ररी हल्लाउनुस् । मिसावट छ भने मिश्रणको रंग रातो देखिन्छ ।

हरियो सब्जी, लौका, हरियो खुर्सानी, परवल
हरियो सब्जीमा हरियो रंगको मिसावट हुने गर्छ । यसलाई जाँच्न एउटा सेतो ब्लाटिङ पेपरको टुक्रामा नमुनालाई राख्नुस् । यदि कागतमा रंग लाग्यो भन कृत्रिम रंग वा मेलाचाइटको प्रयोग गरिएको छ भन्ने बुझ्नुपर्छ ।

दही
दहीलाई बाक्लो बनाउन वनस्पति घ्यू मिसाइन्छ । यसबारे जाँच्न ३ मिलिलिटर दहीको नमुना टेस्टट्युबमा लिएर त्यसमा १० मिलिलिटर नुनको अम्ल वा मुराटिक अम्ललाई मिसाएर चौथाइ चम्चा चिनी हाल्नुस् । राम्ररी घोल्नुस् । १५ मिनेटपछि रंगले मिसावट पुष्टि गर्छ ।

1 comments:

निर्भिक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुरा त ठिकै हो । तर अलिक व्यवहारिक भए जस्तो लागेन । एसिड कहाँबाट ल्याउँने ? के सबैको घरमा विज्ञानका सामान हुन्छने र ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।