-हरिहर शर्मा-
‘कोही गतिला हुन्छन्, फिटिक्कै राम्रा हुँदैनन्, कोही राम्रा हुन्छन्, गतिला हुँदैनन्’,मेरा साथी विवशता पोख्दै थिए, ‘लभ गर्नुपर्ने रै’छ यार, केटी खोज्न त झ्याउ हुँदो रैछ ।’ साथीको कु्रा सुनेर म हाँसेँ । यथार्थमा, यो हाँसेर उडाउने कुरा थिएन । म सम्हालिएँ । एकछिन वातावरण मौन भयो । जोक गर्ने बानी छ, भनिहालेँ, ‘सबै केटी राम्रा हुँदैनन्, राम्रा जति हाम्रा हुँदैनन् भनेजस्तै भयो है !’ उनले थोरै लजाएर सहमति जनाए ।
उनले अधिकृत पास गरेका हुन् । आरक्षणका विरोधी उनी, आरक्षित समूहमा परेर पनि आरक्षणमा फारम भरेनन् । सरकारी अफिसर नभई विहे गर्दिन भन्दै तीन दसक खुशीखुशी काटे । अहिले दुःखी भएका छन्, जीवनसाथी नपाएर । उनको पीडा शान्त पार्ने मलम मसँग थिएन । केटी खोज्ने काममा ‘दलाल’ बन्दा अपजस आउन सक्छ भन्ने थाहा थियो । तैपनि साथीको हैसियतमा उनका कुरा सुन्ने र सुझाउने काम गरेँ ।
सोधेँ, ‘अहिलेसम्म कति हेरियो त ?’ थाहा छ, मेरो यस्तो सोधाइ गलत थियो । किनकि जीवनसाथी रोज्ने कामलाई गाइवस्तु खोजेजस्तो र हेरेजस्तो पारामा लिन हुँदैन । मैले मात्र चल्तीको शैली प्रयोग गरेको थिएँ । जवाफमा हाँस्दै उनले भने, ‘चार पाँच ठाउँ हेरियो, कही चित्त बुझ्ने होईन ।’ म रुचिपूर्वक सुनिरहेको थिएँ, ‘एउटी सबथोक मिलेकी थिई, उसको बाउले सुरुमै जग्गा दिने कुरा गर्यो, मलाई मन लागेन ।’
उनी स्वाभीमानी थिए । काठमाडौँको जग्गा दाइजो दिन खोजेर ‘हुन नसकेको’ ससुराले छोरी विक्री गर्न खोजेको अर्थ लगाए उनले । ‘दाइजो माग्नुहुन्न, प्रोत्साहित गर्नुहुन्न, तर कुनै बाबुले छोरीलाई केही दिन खोज्छ भने के फरक पर्छ र !’, मैले सन्तुलित अभिव्यक्ति राखेँ । ‘हुन त हो, तर भयो त्यहाँ’, उनी धनाढ्य केटीबाट पन्छिन खोजे । मेरो जिज्ञासा सकिएको थिएन, ‘अरु ठाउँमा नि ?’ उनले सबैतिरको कुरा सुनाए ।
जागिरे केटी विहे गर्नुपर्यो भनेर एउटी अधिकृतसँगै उनले कुरा चलाउने सोचेछन् । पछि निष्कर्ष निकालेछन्, ‘आफ्नै हैसियतकी विहे गर्यो भने टकराव हुन्छ ।’ मलाई उनको कुरा चित्त बुझेन । आफू बराबर हैसियतकी केटी विहे गर्नुहुन्न भनेर उनले नेपाली युवा–सोचाइको प्रतिनिधित्व गरिरहेका थिए । मैले उनमा अधिकांश मध्यवर्गीय उमेरदारहरुको झल्को पाएँ । र, यस्तो सोचाइ बदल्न मैले उनलाई सुझाव दिए ।
‘केटी त जागिरे हुनुपर्छ यार ! एकजनाको कमाइले भात खान सकिन्छ, फलफूल खान सकिन्न’, मैले यसो भनेपछि उनले भने, ‘त्यसैले जागिरे केटी खोजूँ भनेको, खै !’ भेट्न न भेटेका रहेछन् जागिरे केटी पनि, तर केटी अलि जेठी भएकाले स्वीकार गर्न सकेनछन् । ‘उमेर अलिकति तलमाथि भए के फरक पर्छ र ?’ मैले यसो भनेपछि साथी अलिकति रिसाए, ‘तिमी चुपलाग, धेरै आदर्शवादी नबन ।’ पछि फेरि सम्हालिएर भने, ‘मेरो ठाउँमा तिमी भएको भए के गर्थ्यौ भन त ।’ मैले मनकै कुरा भने, ‘मलाई दुईचार वर्षले फरक पार्दैन ।’
यौटीसँग कुरा मिलिसकेको रैछ । केटीकै घरमै गएर कुरा गरेका रै’छन् । दुईपल्ट घुम्न गएछन् । कुरा मिल्ने बेला उनले एकदिन केटीलाई फोन गरेछन्, ‘हाम्रो विहे नहुने भयो, सरी है !’ कुरा सुनेर म अचम्ममा परेँ, ‘सबै कुरा मिलेर किन क्यान्सिल फेरि ?’ उनले कारण खोतले, ‘बुवाले पश्चिमकी केटी भनेर नाइँनास्ती गर्नुभयो, त्यसैले ।’ (उनी पूर्वका थिए ।) मलाई रिस उठ्यो, भनिहालेँ ‘विहे गर्ने तिमीले कि बुवाले ?’
‘तिमीले उसँग यत्रो समय खेलेको क्षतिपूर्ति त्यही एउटा सरी, त्यो पनि फोनबाट’, आक्रोसमै भनेँ । उनलाई पनि त्यसरी त्यो केटीको मन दुखाउने मन रहेनछ । तर बुवाको इच्छाविरुद्ध जान सकेनछन् विचरा । मलाई तिनका बुवाप्रति रिस उठ्यो । बुवाप्रतिको रिस छोरालाई देखाउन मन लागेन । सुझाव दिँदै भने, ‘अबदेखि यस्तो नगर यार ! हरेक मान्छेको मन हुन्छ । केटीहरुको मन त झन् कमलो हुन्छ भन्छन् ।’
‘अब के छ त विचार, धेरै प्रयोग गरेछौ धेरैमाथि ।’ यस्तो अभिव्यक्ति उनलाई व्यङ्य लागेछ । मन दुखाएजस्तो गरेर भने, ‘अब केही गर्दिन, जहिले जे होला होला । भगवानले मेरो लागि कोही बनाएका होलान् नि कही ।’ ‘हो...बल्ल तिमी लाइनमा आयौ’, मैले उत्साहित हुँदै भनेँ, ‘विहे जहिले जहाँ जोसँग हुनुपर्ने हो, हुन्छ ।’ मेरो विचारले उनलाई राहत दिएछ । दुईजना अविवाहित साथी लामो समय विहेकै कुरा गरेर बस्यौँ ।
छुट्टिने बेला आयो । मैले भनेँ, ‘भोलिको कुरा राम्रो होस् ।’ उनी भोलि अर्की केटी हेर्न जाँदै थिए । उनले धन्यवादको औपचारिकता निभाए । पार्किङबाट बाइक निकाल्दै थियौँ हामी । मैले कुरा थपेँ, ‘बत्तीस लक्षण कसैसँग हुँदैनन् है !’ उनी हाँसे । ‘तिमी पनि छैनौ’, मैले यसो भनेपछि उनी हेल्मेटसहितको टाउको हल्लाएर हाँसे । ‘उपयुक्त जीवनसाथी पाएर उनी सधैँ यसरी हाँसिरहन सकून्’, मैले मनमनै कामना गरेँ ।
yuba21harihar@yahoo.com
www.facebook.com/yuba21harihar
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।