जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालमा पनि आणविक हतियार चाहिन्छ कि क्या हो ?


समय पुरै परिवर्तन भएको छ । अब आफु कति सुरक्षित छु भन्ने कुरा आफ्नो बाहुबलले मात्र निर्धारण गर्न सक्दैन । भनिन्छ, जमाना मुसाले सिहं मार्ने किसिमको छ । अब आफु मुसो हुने कि सिहं खुट्याउने बेला आइसकेको भान हुन्छ । हामी जति सुकै स्वधिनताका कुरा गरेर नथाके पनि अनि हामी सार्वभौम छौ भनेर चिच्याए पनि काल परिस्थितीले ति सबै बकम्फुसे बनाई दिन्छ । हामी त्यो बेला सम्म मात्र स्वतन्त्र र सार्वभौम छौ, जबसम्म शक्ति राष्ट्रहरु हामी माथी कब्जा जमाउँनु पर्ने कारण भेट्दैनन् । हामी अहिंसाको रट लगाएर बसिरहेका छौ । सायद यो हाम्रो कमजोरी छोप्ने प्रयास मात्र हो । नत्र त लोकतान्त्रिक र मानवअधिकारवादी मुलुक भनेर चिनिएकाहरुको मुख्य आयस्रोत हतियारको व्यापार नै बनिरहेको छ । हामीसँग एउटा पनि आधुनिक हतियार नहुनु (खास गरी आणविक) हामै्र लागि कुनै दिन घातक बन्न नसक्ला भन्न सकिदैन । आणविक हतियार हुनु र नहुनुमा कति फरक छ ? थाहा छ ?

आणविक हतियार हुँदा के भयो ?
आणविक हतियारहरुले भयावह विनाश ल्याउँन सक्छ । अनि यस्ता हतियारहरुको श्रृजना नै विनाशका लागि हुन्छ भन्नेमा कुनै द्धिविधा छैन । यसको प्रयोगको मुख्य बहानाहरु स्वतन्त्रता, सुरक्षा वा प्रत्याक्रमण आदि नै हुनेछन् । बहाना जे भए पनि यसले पार्ने क्षतीमा कुनै फरक पर्दैन । तर पनि यसले राष्ट्रिय सुरक्षामा ठुलो भुमिका खेल्छ भन्ने कुरा अन्तराष्ट्रिय परिवेशले पुष्टि गरेको छ । उदाहरणका लागि उत्तर कोरिया हाम्रो सामुन्ने छ । एसियाली कम्युनिष्ट राष्ट्र उत्तर कोरियाको अस्तित्व अमेरिकाका लागि सँधै अमान्य रहदै आएको छ । आफ्ना नागरिकलाई मानवअधिकार प्रयोग गर्न नदिएको र नागरिकलाई सँधै अन्याय भइरहेको ठहर गरेको धेरै समय भइसकेको छ । यसका लागि उसले पटक पटक उत्तर कोरिया माथी सैनिक हमलाको वकालत गर्ने गरेको तथ्य सबैलाई थाहा छ । तर पनि उसले उत्तर कोरिया माथी सैनिक हमला गर्न सकिरहेको छैन । यसको एक मात्र कारण उत्तर कोरिया आफुसँग आणविक हतियारको भण्डार रहेको बताउँछ । र, अन्तराष्ट्रिय रुपमा नै उत्तर कोरियाले आणविक हतियारका लागि युरेनियम प्रशोधन गरेको पुष्टि भएको छ । यही आणविक हतियारका कारणमात्र उत्तर कोरिया स्वतन्त्र पुर्वक विश्वमानचित्रमा रहेको छ ।
आणविक हतियार नहुदा के भयो ?
आणविक हतियार छैन भनिरहदा पनि र आइएइएले पनि इराकमा आणविक हतियार नभएको प्रकाश पारे पछि अमेरिकी सरकारले इराकमा प्रजातन्त्रको बहालीका लागि भन्दै युद्ध छेड्यो । सद्दाम हुसेनको क्रुर शासनकालमा जति मानिसको हत्या भएको थियो त्यसको कयौं गुणा बढि त्यहा युद्धका कारण नागरिकहरु मरिसके । इराकको यो हालत हुनुमा आणविक हतियार नहुनु र तेलको भण्डार नै मुख्य कारण थियो । अफगानिस्तान र भर्खरै मात्र भएको लिबिया आक्रमण पनि आणविक हतियार नभएको कारणले भएको हो । यदि अफगानिस्तानमा र लिबियामा आणविक हतियार भएको भए फ्रान्सेली सेनाको गठबन्धन त के पुरै संयुक्त राष्ट्रसघंले पनि आक्रमण गर्न सक्ने थिएन ।
अन्त्यमा,
देश जीवन्त रहन त्यहाँ संघर्ष र रुपान्तरण हुनै पर्छ । यो प्राकृतिक सत्य हो । अमेरिका र केहि पश्चिमा मुलुकले जे परिभाषा लगाउँछन् संसार त्यसकै पछाडी दौडनु पर्छ भन्ने केही छैन । हरेक देशको आफ्नो धरातल र राजनीतिक पृष्ठभुमी हुन्छ । यही धरातलमा टेकेर समाज विकसित हुन्छ । वास्तवमा विकाश भनेको नै बिस्तारै हुने परिवर्तन हो । जसलाई अध्ययन र त्यो अध्ययनबाट हाशिल भएको अनुभवको प्रयोगबाट प्राप्त गरिन्छ । कुनै बाहिरियाले थोपरिदिएको कुनै पनि बिषयले विकाशको रुप लिन्छ नै भन्न सकिदैन । यसैले हरेक देशलाई रचनात्मक आलोचनाबाट अगाडी बढ्न स्वतन्त्रता दिनु पर्छ । बाहिरियाको उपनिबेश र हस्तक्षेप समाज विकाशको बाधक हो । यसैले यो हस्तक्षेपबाट बच्न आजको विश्वमा आणविक हतियारको आवश्यकता झन् बढ्दो छ । हामी सबैलाई थाहा छ, “फलामलाई फलामले मात्र काट्छ” ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।