जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेता हो ! क्रिकेट हेर

-हरिहर शर्मा-
क्रिकेट अनिश्चिततायुक्त खेल हो, अन्तिम बलसम्म यसको अनिश्चितता रहिरहन्छ । हाम्रो संविधान निर्माण अभ्यास क्रिकेटको अनिश्चितताभन्दा कम अनिश्चित छैन । मंसीर १४ आइ नै सक्यो, संविधान लेख्ने काम भएकै छैन । संविधानसभाको म्याद थप्ने सिलसिला भने ‘सगौरव’ जारी छ ।

क्रिकेट लोकप्रियमध्येको एक खेल हो । क्रिकेटको एउटै टेष्ट म्याच सकिन पाँच दिन लाग्छ, तथापि दर्शकको उत्सुकता र मनोरञ्जन सुस्त हुँदैन । यति हुँदाहुँदै कतिपयले क्रिकेटलाई मूर्खले खेल्ने र महामूर्खले हेर्ने खेल भन्छन् । क्रिकेट सम्बन्धित यो भनाइ सही होला/नहोला, संविधान बनाउन संविधानसभामा आएका खेलाडी भने पक्कै मूर्ख हुन् । निर्धारित समयमा त सकेनन् नै, थप गरेको समयमा पनि उनीहरु संविधान बनाउन अक्षम भैसकेका छन्, खाली अक्षमताको औपचारिक घोषणा हुन मात्र बाँकी छ । यस्तोमा यस्ता मूर्ख नेताहरुले कतै संविधान बनाइहाल्छन् कि भनी विश्वास गर्ने हामी जनताहरु महामूर्ख बन्दै गएका छौँ ।


क्रिकेट खेल्दा कुनै खेलाडीको विकेट खस्यो भने त्यो खेलाडी खुरुक्क मैदान बाहिर आउँछ । हदै भए आउट भए नभएको निक्र्योल गर्न थर्ड एम्पाएरको सुझावसम्म लिने काम होला । आउट भएर पनि ‘म कहाँ आउट भएको छु ? हुन्न ! म अरु खेल्छु, नत्र अरुलाई पनि खेल्न दिन्न’ भनेर जिद्दी गर्ने काम त्यहाँ हुन्न । कुनै टोलीले कम मात्र रन बनाउन सक्यो भने उसले बढी रन बनाउने टोलीको जित स्वीकार्छ । यता हाम्रो संविधानसभामा भने थोरै जनमत पाउने दल पनि संविधानमा आफूले भनेकै प्रावधान वा प्रणाली हुनुपर्छ भनी जिद्दी गर्छन् । आफूले पाएको जनमत अनुसार आफ्नो मत दावी गर्ने संस्कार दलहरुमा अझैँ आएको छैन ।

क्रिकेट खेल्दै गर्दा मौसमी वा प्राविधिक व्यवधान आयो भने अपवादबाहेक थोरै समय खेलेर भएपनि खेल पूरा गर्ने काम हुन्छ । दर्शकको अपेक्षा तोड्ने काम हुँदैन । यता संविधानसभाको जति समय थपे पनि संविधान बनाउने काम सकिने लक्षण देखिएको छैन । जनताका अपेक्षाको हिसाबकिताब राख्ने झण्झट कसैले गर्दैनन् । क्रिकेट खेल सकिएपछि जित्ने र हार्ने दुवै पक्षले खेलको नतिजा (आफ्नो हैसियत) स्वीकार्दै हात मिलाउने, अङ्कमाल गर्ने, दर्शकलाई अभिवादन गर्ने गर्छन् । संविधानसभाका कतिपय शक्ति आफूले भनेजस्तो भएन वा आफूलाई जित्न दिइएन भने संविधान बनाउने हैन, जनविद्रोह गर्ने वा देश ठप्प पार्ने बताउँछन् ।

धोनीले सेञ्चुरी हान्दा सचिन उठेर ताली बजाउँछन् । धोनी र सचिनको सहिष्णु प्रवृत्ति खनाल–ओली वा प्रचण्ड–बैद्य वा पौडेल–देउवामा देखिँदैन । आफ्नै टिम/दलको के कुरा ! इण्डिया र वेष्ट इण्डिजको म्याचमा ब्राभोले सेञ्चुरी हान्दा उनलाई आउट गराउन भरमग्दुर प्रयास गरेका धोनी ताली बजाउँछन् । क्रिकेटमा जस्तो अरुको अस्तित्व स्वीकार्ने काम हाम्रो राजनीतिमा हुँदैन । यहाँ दलबीचमा बहिस्कारको नीति छ । सुरुमा प्रचण्ड घेरिए । नेपाललाई प्रचण्डले गरिखान दिएनन् । खनालको हाल त्यस्तै । अब बाबुराम तारो बन्ने सम्भावना छ । यसरी न खेल खेलिन्छ, न नतिजा आउँछ । नतिजा शूण्य–संविधाननिर्माण अबरुद्ध !

क्रिकेटमा राम्रो खेल्न नसक्ने खेलाडी टोलीमा पर्दैन वा बस्दैन । टोलीमा परेकामध्ये पनि तुलनात्मक कमसलहरु बाहिरै बस्छन् । क्रिकेटमा खेलाडीको छनोट गर्ने काम छनोट समितिले गर्छ, उसको निर्णयलाई कसैले चुनौति दिँदैनन् । राजनीतिमा योग्य र अयोग्यको छनोट गर्ने काम निर्वाचनका माध्यमले जनताबाट हुन्छ । लोकतान्त्रिक शासनव्यवस्थामा सरकारमा जाने नेताहरु जनताबाट चुनिएर आएका हुनुपर्छ । अक्षम हरुवाहरुबाट मैदानमा प्रवेश गरेर खेलको वातावरणलाई विगार्ने काम गर्नु हुनुहुन्न । हाम्रो यहाँ ‘मै हुँ’ भन्ने दलभित्र यस्तै हरुवाको विगविगी छ । ओली महाशय यसका ज्वलन्त उदाहरण हुन् ।

समस्या तबसम्म समस्यै रहन्छन्, जबसम्म समाधानका उपाय खोजी भएर तिनलाई लागू गरिँदैन । समाधानका उपायसँग जानकार भएर पनि समस्याको समाधान गरिँदैन भने त्योभन्दा बेबकुफी र लज्जाको विषय अर्को हुन सक्दैन । चौतर्फी समस्या हुनु नेपालको समस्या होईन । स्पष्ट देखिएका समस्या समाधानको मार्गमा अघि बढ्न नसक्नु प्रमुख समस्या हो । आपसी सहमति, विश्वास र अस्तित्व स्वीकारेर दलहरुले जनताले दिएको जिम्मेवारी पूरा गर्नु निकासको बाटो हो । दलहरु भने स्वार्थको बुइँ चढेर एकअर्कालाई पछार्ने खेलमा लागेका छन् । पछार्ने खेलले ‘पालाको पैचो’को रुप लिँदैछ । यस्तोमा धैर्यको बाँध नटुटुञ्जेल चुपचाप बस्नुको विकल्प जनतासँग छैन । बाँध टुटेपछि आउने स्थिति भने अनुमानबाहिरको हुन्छ, इतिहास साक्षी छ ।
yuba21harihar@yahoo.com
www.facebook.com/yuba21harihar

3 comments:

रुबेन पुन मगर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सक्छौ भने नेता क्रिकेट्मा झै छक्का हान ।
बिकासको पिच बनाएर टप्का हान ।
बुझेनौ खै नेता क्रिकेटको परीभाषा
बिपक्षलाई पनि सहमतिय झप्का हान ।

प्रताप भट्टराई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रामा हाले पनि उस्ताको उस्तै । यीनीहरुलाई जे भने पनि केही लाग्दैन ।

cricketbirat said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

You r the best Harihar sharma g.Love your every Articles related with cricket.Keep it up.Love you

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।