जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ढुंगामा लेख्छन् हाम्रा मिडियाहरु

ढुंगामा किन लेखिन्छ ? लेखिएका कुरा पछिसम्म रहोस् भनेर अनि लेखिएका कुराहरु पुनः परिवर्तन नगरियोस् भनेर त हो नि । यसैले ढुंगामा लेखिदिएँ भन्ने उखान पनि चल्छ, अब कुरा फेरिदैन भनेर कसम खाए जस्तै । हाम्रा मिडियाहरु ठुयाक्कै त्यस्तै, हरेक कुराहरु ढुंगामा लेखिदिने । यसैले उनीहरुका समाचारमा संशोधन, भुल सुधार या क्षमायाचना भन्ने हुदै हुदैन ।

सायद उनीहरु आफ्नो ताकतमा बढी नै विश्वास छ । या, उनीहरुलाई लाग्छ, हामी मार्फत सम्प्रेषण भएको कुरा कतिले पढे या हेरे ? हेरे पनि कतिले थाहा पाउलान् गल्ति हो भनेर ? र, गल्ति नै हो भन्ने थाहा भए पनि एकदुई दिनमा त बिर्सिहाल्छन् नि । अथवा, हामी पाठकहरुलाई मुर्गा ठान्छन् र जे भने पनि पत्याउँछन् भन्ने मान्छन् । यसैले ढुंगामा लेखे झै गर्छन् मिडियाहरु ।


भर्खरै एक नेपाली टेलिभिजन, पत्रिका र केही अनलाईनहरुले लेखे, बलिउडका कलाकार अमिताभ बच्चन नेपाली मुलका हुन् भनेर । नेपाली समाचार च्यानल एभिन्युज तथा समाचारपत्र दैनिकले केही तथाकथित स्रोतहरुलाई आधार मान्दै बच्चन नेपाली भएको खुलासा (हा हा हा) गरेका हुन् । उनीहरु अनुसार भुपि शेरचनले लेखेको अप्रकाशित एक कृतिमा सो कुरा उल्लेख छ रे । त्यति मात्र हो र, स्वयम् अभिताभले पनि मेरो नशा(नशामा शेरचन, गौचन, भट्टचन र तुलाचनको रगत दौडिरहेको छ भने रे । समाचार हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोस्


भारतीय चलचित्र उद्योगका सर्वोत्कृष्ट नायक अमिताभ बच्चन र परेस रावलको पृष्ठभूमी नेपाली रहेको एक अध्ययनको दाबी
बलिवूड बादशाह अमिताभ बच्चन नेपाली भएको प्रमाणित


भएको के रहेछ ?
व्यंग्यकार मनोज गजुरेलले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने प्रचारलाई व्यंग्य गर्दै एउटा लेख लेखेछन्, उनले लेखमा हुँदै नभएका प्रमाण प्रस्तुत गर्दै भारतिय अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको तर्क पेश गरेका रहेछन् । सोही लेखलाई आधार मानेर मिडियाहरुले हौवा समाचार बनाएका रहेछन् ।
मनोज गजुरेलको लेख तल हेर्नुहोस्


यसपटक भारतमा रहेका ग्रेटर नेपालीहरुको बारेमा मात्र चर्चा गरिदैछ । बलिउड नायक अमिताभ बच्चनका बराजु पनि नेपाली नै हुन् भन्दा खित्का छाड्नु हुन्छ होला ! भारतवर्षको इतिहास पढ्नोस्- बच्चन परिवारको रग रगमा कालिगण्डकी नदीको पानी सिञ्चित भएको छ । भूपी शेरचनको अप्रकासित रचना ‘थाकखोलाको इतिहास’मा उल्लेख भए अनुसार तल्लो मुस्ताङ्का थकालीहरु सदियौंदेखी तिब्बत-गोरखपुर-इलाहाबादको ब्यापार गर्दथे । ब्यापारिक घरानाका ती पांच भाई थकाली मध्ये एकभाईले ब्यापारका क्रममा भारतको अहमदाबादमै घरजम गरे । उनै जौ बिरसिंह बच्चनका छोरा हरिवंश राय बच्चन र हरिवंश राय बच्चनका छोरा अमिताभ बच्चन अहिलेपनि गर्वले भन्ने गर्दछन्- ‘कानुनके नजरमें तो हम हिन्दुस्तानी लगते हैं, लेकिन मेरी शरीरमें शेरचन, गौचन, भट्टचन, और तुलाचनका खुन दौड रहा है-क्यों कि मै हुं अमिताभ बच्चन !!’

जानकारी रहोस्-अमिताभ बच्चनपनि बेलाबेलामा मुस्ताङ्को यात्रामा निस्कने गर्दछन् । सिने म्यागेजिन ‘स्टार-डस्ट’ले २००५ को जनवरी अंकमा लेखेको थियो-’अमिताभ बच्चनले आफु अभिनित चलचित्र ‘खुदा गवाह’को छायांकन आफ्नो पुख्र्यौली थलोमा गर्नुपर्ने शर्त राखेपछि उक्त चलचित्रको अधिकांस छायांकन जोमसोम वरपर गरिएको थियो ।

परेश रावल
अछाम जिल्लाको सांफे बगर वरपर रावलहरुको ठूलो बस्ती छ । त्यतै आफ्नो जन्मथलो भएका हाम्रा गृहमन्त्री भीम रावलका बराजु कर्ण सिंह रावल डेढसय बर्षअघि थातथलो छोडेर एक्कासी बेपत्ता भए । मर्यो – बांच्यो, शताब्दीऔंसम्म केही पत्तो लागेन । पांचबर्षआगाडी बाह्रबुंदे सहमतीको क्रममा भीम रावलको दिल्लीमा बलिउडका एकजना चर्चित कलाकारसंग भेट भयो । कुराकानीको क्रममा ती कलाकारको लवज डोट्याली लवजसंग मिल्दो जुल्दो लागेपछि मन्त्री रावलले सोधखोज गरेछन् । कलाकारले ‘धेरै कुरो आफुलाई थाहा नभएपनि आफ्ना बराजु नेपालकै कुनै गाउंबाट भारत छिरेको’ बताए । खोजबिनको क्रममा पत्ता लाग्यो- उनै कर्ण सिंह रावलका पनाती पो रहेछन् ति कलाकार, अर्थात् परेस रावल ! अहिले भीम रावल र परेस रावलबिच काका भतिजको संबन्ध छ , चाडबाडमा आउजाउ पनि हुने गर्दछ । भीम रावल भन्छन्- ‘म पारिवारिक भेटघाटमा दिल्ली जाने गर्दछु, तर मिडिया चाकडी बजाउन गयो भनेर आरोप लगाउंछन् । ‘
भारतीय नेताहरु नेपालप्रति सधैं गंभीर हुने एउटा कारण मित्रता हो भने अर्को कारण बन्धुत्व हो । यसकार्यमा भाजपा सबैभन्दा अगाडी छ, किनभने त्यस पार्टीका बरिष्ठ नेताहरु नेपाली मूलका रहेकाछन् । यो कुनै शताब्दी पुरानो इतिहास पनि हैन । भोजपुरको गोगनेमा गएर त्यहांका बजगाईंहरुलाई सोध्नोस्- उनिहरुले तपाईंलाई प्रष्ट पार्नेछन् । उहिले गोगनेका मुखिया अक्कल बहादुर बजगाईं जोगमनीको ब्यापार गर्दथे । आउंदा जांदा उनि भारततिरै बसोबास गर्न थाले । रहंदै बस्दैजादा भारतीय राजनीतिमा पनि उनले आफ्नो पहुंच बढाए । भारत छोडो आन्दोलनमा श्री बजगाईंको त्यागको कदर गर्दै सरकारले भारत रत्नले संमान पनि गरेको थियो । भाजपाको बरिष्ठ नेता ‘अटल बिहारी बाजपेयी’ उनै अक्कल बहादुर बजगाईंका जेठा छोरा हुन् ।

श्री पाजपेयीले आफ्नो आत्म बृतान्त ‘मैं और मेरी तन्हाई’को पेज नं.११८ मा लेखेकाछन्-’हमारे पिता ने मेरा नाम अटल बहादुर बजगाई रखे थे, लालकृष्ण अडवाणीका वास्तविक नाम रामकृष्ण अधिकारी है और उमा भारती ने तो अपना नाम हि नही बदली, क्यों कि बागलुंगसे बंगलोर आए हुए उनका दादा रमानाथ भारतीले उमाको यह नाम दिया था ।’

सोनु निगम
२०४५ सालको भारतीय नाकाबन्दी कसैले बिर्सिएको छैन । तर, त्यो नाकाबन्दी हटाउन पहल गर्ने गोप्य शूत्रको बारेमा भने कमैलाई थाहा होला । तत्कालिन भारतीय सत्तालाई झुकाउन बाध्य पार्ने दबाबको नेतृत्व नेपाली मूलका एक भारतीय नागरिक तथा संस्कृतिकर्मी ‘अगम निगम’ले गरेका थिए । स्मरण रहोस्- अगम निगम चर्चित गायक सोनु निगमका पिता हुन् ।

विकिपेडियाका अनुसार एक शताब्दी अघि पूर्वी पांचथरका नेम्बाङ्हरु नै भारत बसोबास गर्न थालेपछि ‘निगम’ लेख्न थालेकाछन् । निगम परिवारले नेपाल र नेपालीहरुप्रति गरेको सद्भावलाई सम्मान गर्दै २०४६ सालको अन्त्यमा नेपाल सरकारले ‘राष्ट्रिय पेट्रोलियम कंपनी’लाई ‘नेपाल आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !!स्रोत
के यो गल्ति हो ?
यो पक्कै सानो भुल होइन । मिडियाहरुले जानाजान यो अफवाह फैलाएका हुन् । च्यानल, पत्रिका र आफ्नो अनलाईनलाई बिकाउ बनाउनका लागि यस्ता सस्ता समाचारको प्रयोग गरेको मात्र हो । होइन भने मिडियाहरुले समाचारको स्रोत खुलाउँनु पर्छ कि पर्दैन ? खोइ त, समाचारमा उनीहरुले दावी गरे जस्तो भूपी शेरचनको अप्रकाशित ‘थाकखोलाको इतिहास’ ? अमिताभ बच्चनले ‘मेरो नशा-नशामा शेरचन, गौचन, भट्टचन र तुलाचनको रगत दौडिरहेको’ भनेको पुष्टि ? यदि उनीहरुबाट हतारमा ब्रेकिङ दिने हुँदा गल्ति भएको भए क्षमायाचना माग्नु पर्छ कि पर्दैन ?

वास्तवमा यो कुनै गल्ति होइन । यो त जानाजान गलत सुचना तथा समाचार सम्प्रेषण गरिएको हो । यो उनीहरुले सोचे जस्तो सामान्य हुँदै होइन । यो गम्भिर बिषय हो । देशको चौथो अंग भनेर अधिकारका कुरा उठाउँने पत्रकार र मिडियाले यसलाई गम्भिर रुपमा लिनु अनिवार्य छ ।

3 comments:

Krishna Bantawa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालका पत्रकारहरूलाई म त डामेर छाडेको साँढे जस्‍तै लाग्‍छ। जस्‍ले जे गर्दा, भन्‍दा पनि हुन्‍छ। उनिहरू कहिल्‍यै गल्‍ति गर्दैनन रे। कुरा उनिहरूकै ठूला हुन्‍छन। स्‍वतन्‍त्र पत्रकारिता भन्‍छन्‌ फेरि एउटा पार्टीको पुच्‍छर समाउन छाडेका पनि हुदैनन्‌। अर्काको निदिखुदि खोजिखोजि लेख्‍छन्‌ तर उहिहरू भित्रको बिकृती भने सामसुम पारेर बाहिर ल्‍याउदैनन्‌। किन कि मैले पनि नेपालमा ४ वर्ष जती पत्रकारिता गरेर अनुभव गरेपछि थाहा पाएको कुरा लेख्‍दैछु। साहस आँट गरेर कोहि आए पुष्‍टी गरेर देखाइदिन सक्‍छु। तर त्‍यो कुरा फेरी मिडियामा आउनुपर्छ मेरो सर्त पनि हो। यसै प्रतिकृया मार्फत च्‍यालेन्‍ज गर्न चाहन्‍छु। धन्‍यवाद!

Anita said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

संसारका सबैभन्दा ठुला आफुलाई सम्झन्छन् अनि सबै कुरा ढुंगामा नै त लेख्नु पर्यो नि ।

प्रियकां गदाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अबुइ नेपाली पत्रपत्रिका र टिभी पो हो त । लरतरो सम्झेको छ कि क्या हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।